चिसोका कारण बेलुका हिटर र आगो बालेर सुतेका पूर्ववडाध्यक्षको मृत्यु भएको छ ।
मृत्यु हुनेमा काभ्रेपलान्चोकको नमोबुद्ध नगरपालिका-१ का पूर्ववडाध्यक्ष कर्मग्याल्बो लामा रहेका छन् ।
काभ्रेपलान्चोक प्रहरीका अनुसार ८२ वर्षीय लामाको निसास्सिएर मृत्यु भएको हो ।
लामासँगै सुतेकी उनकी श्रीमती असनी माया लामा भने बेहोस भएकी छन् ।
उनको धुलिखेल अस्पतालमा उपचार भइरहेको र स्वास्थ्यवस्था मध्यम रहेको प्रहरीले जनाएको छ ।
मङ्गलबार बिहान अबेरसम्म सुतेका बुबा-आमा नउठेपछि छोरा-बुहारीले ढोका खोलेर हेर्दा बुबा-आमालाई बेहोस अवस्थामा फेला परेका थिए ।
पछि उनीहरूलाई उपचारका लागि धुलिखेल अस्पताल ल्याइएको थियो ।
उपचारका क्रममा लामाको बिहान ९:२० बजे मृत्यु भएको प्रहरीले जनाएको छ ।
लामा दम्पतीले हिटर र फलामको कराइमा आगो बालेर झ्याल ढोका बन्द गरी सुतेको प्रहरीले जनाएको छ ।