हजुर, म अनि रात
हेर्नुस् न,
कहिले रात छिट्टो आइदिन्छ
अनि कहिले निद्रा
यी दुईको खिचातानीमा नमज्जाले म हारेकी छु
राति निद्रा नलाग्ने डरले दिनभरि लाग्छ सायद यो रात नभइदिए,
अनि जब मनका तितामिठा अतितहरू विस्तारै थाक्दै जान्छ्न्
आँखा निदाउन तयार हुँदै हुन्छ्न् नि,
तब त्यो रातहरूमा मेरा आँखाले भन्दा हुन् सायद फेरि कहिले दिन नै नभइदिए !
हो ! सिक्नु छ धेरै कुरा,
बिक्नु छ यही समयसँगै,
अनि टिक्नु छ यहीँ दुनियाँमा
तर,
पूरा हुन्छ भनेर थाती राखेका सपनाहरू
आज आवश्यकताको थिचोमिचोमा परेर अमिलो भएको देख्दा,
रातसँग मात्र होइन आफैसँग पनि त डर लाग्दो रहेछ
अनि कहिलेकाहीँ सोच्न पुगिँदो रहेछ,
सायद मै नरहे र मेरा सपनाहरू नै नभइदिए !!
सायद हजुरले त्यो इन्द्रेणीको रङ्गमात्र देख्नु भएको छ,
तर, मैले त्यो रङ्गभित्रको फिक्कापनालाई नियाल्ने गर्छु
किनकि
आजकल मलाई यो रङ्गहरूसँग कुनै सम्बन्ध छैन,
जसरी आँखा नदेख्ने मानिसको लागि सबै रङ कालो नै हुन्छ,
मलाई पनि,
मेरो लागि मात्र लाग्छ कि,
यो रङ्ग नै नरहे अनि यो रङ्गमञ्च नै नभइदिए !!!
– जाया कोइराला