सरकारले अब सबै प्रकारका जुलुस, धर्ना, विरोध प्रदर्शनमा रोक लगाउने निर्णय गरेको छ ।
शहरी विकासमन्त्री रामकुमारी झाँक्रीका अनुसार सरकारले जुलुस, धर्ना, विरोध प्रदर्शनमा रोक लगाउनुका साथै विवाह, व्रतबन्ध लगायतका धार्मिक कार्यक्रममा अधिकतम २५ जनाको सीमा तोक्ने निर्णय गरेको हो ।
पार्टी प्यालेस र ठूला होटलमा विवाह, व्रतबन्ध लगायतका धार्मिक कार्यक्रमलगायतका गतिविधि गर्दा कूल क्षमताको एकतिहाइभन्दा बढी सङ्ख्या उपस्थित गराउन नपाइने जनाइएको छ ।
साथै रङ्गशालामा खेलकुद प्रतियोगिता हुँदा दर्शक सङ्ख्या कूल क्षमताको एकतिहाइ मात्र हुनुपर्ने सरकारको निर्णय रहेको छ ।
सरकारले महामारी नियन्त्रण गर्ने पहिलो चरणमा सिनेमा हल र डान्सबारलगायतका रात्रिकालीन व्यवसाय, सबै स्कूल, कलेज र विश्वविद्यालयको भौतिक पठनपाठन आउँदो माघ १५ सम्म बन्द गर्ने निर्णय गरेको छ ।
त्यस्तै, क्याफे र होटल रेष्टुरेन्टमा कोरोनाविरुद्धको खोप लगाएको कार्डका आधारमा मात्र प्रवेश गराउने तथा सुपरमार्केट, डिपार्टमेन्टल स्टोरमा एकतिहाइ मात्र प्रवेश गराउने निर्णय सरकारले गरेको मन्त्री झाँक्रीले जानकारी दिएकी छिन् ।