गृहमन्त्री सुधन गुरुङले सरकारी जिम्मेवारीमा रहेर राजनीतिक दलको पक्षमा काम गर्ने तथा नेताको चाकडीमा संलग्न हुने कर्मचारीमाथि कडा कारबाही गर्ने चेतावनी दिएका छन्।
शनिबार सामाजिक सञ्जालमार्फत आफ्नो धारणा सार्वजनिक गर्दै उनले राष्ट्रसेवक कर्मचारीको मुख्य दायित्व देश र जनताको सेवा गर्नु रहेको बताएका हुन्। सरकारमा आएदेखि नै कर्मचारीले कुनै राजनीतिक दलको झोला बोक्ने नभई आफ्नो जिम्मेवारीअनुसार काम गर्नुपर्ने स्पष्ट पार्दै आएको उनको भनाइ छ।
गुरुङले नेता र कर्मचारी सबैको साझा उद्देश्य देशप्रति समर्पित भएर जनताको सेवा गर्नु हुनुपर्ने उल्लेख गरेका छन्। पटकपटक सचेत गराउँदासमेत राजनीतिक दलको पक्षमा लाग्न पाइन्छ भन्ने सोच राख्ने कर्मचारीले त्यस्तो भ्रम त्याग्नुपर्ने उनले बताएका छन्।
आफ्नो पदको जिम्मेवारी बिर्सेर जनताको कामभन्दा नेताको चाकडीलाई प्राथमिकता दिने जोकोहीलाई प्रचलित कानुनअनुसार कडा कारबाही गरिने उनको चेतावनी छ।
‘हामीलाई कसैको चाकडी गर्ने कर्मचारी होइन, जनताको दुःख बुझ्ने, आफ्नो कर्तव्य निभाउने र देशप्रति इमानदार राष्ट्रसेवक चाहिएको हो,’ गृहमन्त्री गुरुङले सामाजिक सञ्जालमा लेखेका छन्।