विराटनगर । विराटनगर महानगरपालिका–४ इक्राहीस्थित उखुबारीमा शुक्रबार दिउँसो एक युवकको शव शंकास्पद अवस्थामा फेला परेको छ । अन्दाजी २५ देखि २६ वर्ष उमेरका देखिने युवकको शव घोप्टो परेको अवस्थामा भेटिएको हो । मृतकको पहिचान भने खुल्न सकेको छैन ।
स्थानीयले उखुबारीभित्र युवकको शव देखेपछि प्रहरीलाई खबर गरेका थिए । सूचना पाएलगत्तै मोरङ प्रहरी प्रमुख प्रहरी उपरीक्षक कवित कटवाल प्रहरी टोलीसहित घटनास्थल पुगेका थिए ।
प्रहरीका अनुसार मृतकले लगाएका कपडा यथावत् अवस्थामा छन् । उनको दाहिने कानमा चोट लागेको र सामान्य रक्तस्राव भएको देखिएको छ । शव भेटिएको अवस्था र शरीरमा देखिएका चोटका कारण घटना शंकास्पद बनेको प्रहरीले जनाएको छ ।
युवकको मृत्यु कसरी भयो भन्ने विषयमा प्रहरीले अनुसन्धान गरिरहेको छ । उनको मृत्यु वन्यजन्तुको आक्रमणबाट भएको हो वा कसैले हत्या गरेर शव उखुबारीमा फालेको हो भन्नेबारे यकिन भइसकेको छैन । प्रारम्भिक अवस्था हेर्दा हत्या गरेर शव त्यहाँ फालिएको हुनसक्ने प्रहरीको आशंका छ ।
प्रहरी उपरीक्षक कटवालले युवकको शव शंकास्पद अवस्थामा फेला परेको पुष्टि गर्दै मृत्युको वास्तविक कारण अनुसन्धानपछि मात्रै खुल्ने बताएका छन् ।
घटनास्थलमा प्रहरीले आवश्यक मुचुल्का तयार पार्नुका साथै सम्भावित प्रमाण संकलन गरिरहेको छ । शव पोस्टमार्टमका लागि पठाउने तयारी गरिएको छ । पोस्टमार्टम प्रतिवेदनबाट मृत्युको कारण पत्ता लगाउन महत्वपूर्ण आधार प्राप्त हुने प्रहरीको अपेक्षा छ ।
मृतक युवक को हुन्, उनी कसरी उखुबारीसम्म पुगे र उनको मृत्यु कसरी भयो भन्ने विषय अझै खुल्न सकेको छैन । प्रहरीले मृतकको पहिचान खुलाउने र घटनाको वास्तविकता पत्ता लगाउने उद्देश्यले विभिन्न कोणबाट अनुसन्धान अघि बढाएको छ ।
पोस्टमार्टम प्रतिवेदन र अनुसन्धानबाट प्राप्त प्रमाणका आधारमा मात्रै युवकको मृत्यु हत्या वा अन्य कुनै कारणले भएको हो भन्ने यकिन हुने प्रहरीले जनाएको छ ।