विराटनगर । नेपाली कांग्रेसका सभापति गगन थापाले निर्वाचन आचारसंहिताका कारण सरकारका नियमित कामकाज र निर्णय प्रक्रिया प्रभावित हुने गरेको बताएका छन्। स्थानीय तहको निर्वाचनका बेला संघदेखि प्रदेश र स्थानीय सरकारसम्म आचारसंहिताको दायरामा रहने भएकाले महत्वपूर्ण निर्णय लिन कठिन हुने उनको भनाइ छ।
निर्वाचन आयोगबाहिर सञ्चारकर्मीसँग कुरा गर्दै थापाले निर्वाचन अवधिमा सरकारका कामकाज प्रभावित हुने आफ्नो अनुभव सुनाएका हुन्। आफू मन्त्री हुँदा पनि यस्तो अवस्था भोगेको उल्लेख गर्दै उनले निर्वाचन व्यवस्थापनसँगै सरकारका नियमित काम सञ्चालन हुने वातावरण आवश्यक रहेको बताए।
निर्वाचनको मिति र प्रक्रियाबारे राजनीतिक दलहरूले धारणा बनाउनुअघि सरकारले आफ्नो प्रस्ताव स्पष्ट पार्नुपर्ने उनले बताए। सरकारले औपचारिक रूपमा कुनै प्रस्ताव नल्याएको अवस्थामा सञ्चारमाध्यममा आएका समाचारका आधारमा दलहरूले धारणा बनाउनु उचित नहुने उनको भनाइ थियो।
थापाले संविधान र कानुनले निर्वाचनको समय तथा प्रक्रियाबारे स्पष्ट व्यवस्था गरेको उल्लेख गर्दै निर्वाचन आयोगले आफ्नो धारणा सार्वजनिक गर्नुपर्ने बताए। आयोगले संविधान र कानुनअनुसार निर्वाचनको मिति निर्धारण गर्ने तथा सरकारले सोहीअनुसार प्रक्रिया अघि बढाउनुपर्ने उनले बताए।
सरकारले राजनीतिक दलहरूबीच औपचारिक प्रस्ताव राखेर छलफल गराए कांग्रेसले पनि आफ्नो धारणा प्रस्तुत गर्ने थापाले बताए। त्यसपछि पार्टीभित्र छलफल गरेर आवश्यक निर्णय लिइने उनको भनाइ छ।
यसैबीच, भारत भ्रमणमा जान लागेका प्रधानमन्त्रीले सुझाव मागेमा आफूले सुझाव दिने पनि थापाले बताएका छन्। सुझाव नमागिएको अवस्थामा अनावश्यक रूपमा सुझाव दिँदै हिँड्नुपर्ने आवश्यकता नरहेको उनले स्पष्ट पारे।