स्वास्थ्य तथा खाद्य स्वच्छतामन्त्री निशा मेहताले नागरिकलाई रोग लागेपछि उपचार गर्नेभन्दा रोग लाग्नै नदिने वातावरण निर्माणमा राज्यले प्राथमिकता दिनुपर्ने बताएकी छन्।
प्रथम राष्ट्रिय स्वास्थ्य प्रवर्द्धन सम्मेलन २०२६ लाई सम्बोधन गर्दै मन्त्री मेहताले स्वस्थ र अनुकूल वातावरण निर्माण गर्नु उपचारमा मात्र निर्भर हुनुभन्दा प्रभावकारी तथा दीर्घकालीन उपाय भएको बताइन्। उनले स्वास्थ्य प्रवर्द्धनलाई राष्ट्रिय स्वास्थ्य प्रणालीको प्रमुख प्राथमिकताका रूपमा अघि बढाउनुपर्नेमा जोड दिइन्।
स्वास्थ्यलाई अस्पताल, औषधि र उपचारमा मात्र सीमित गर्न नहुने उनको भनाइ थियो। मानिसको स्वास्थ्य सामाजिक, आर्थिक तथा वातावरणीय अवस्थासँग पनि प्रत्यक्ष जोडिने भएकाले ती सबै पक्षलाई समेटेर नीति तथा कार्यक्रम बनाउनुपर्ने उनले बताइन्।
मन्त्री मेहताले उच्च रक्तचाप, मधुमेह, मुटु तथा श्वासप्रश्वाससम्बन्धी दीर्घरोग, मानसिक स्वास्थ्य समस्या, सडक दुर्घटना, वायु प्रदूषण र जलवायु परिवर्तनबाट उत्पन्न स्वास्थ्य जोखिम न्यूनीकरण गर्न सबै क्षेत्रको सहकार्य आवश्यक रहेको उल्लेख गरिन्।
उनका अनुसार स्वास्थ्य क्षेत्रको एकल प्रयासले मात्रै यस्ता समस्या समाधान गर्न सम्भव छैन। यसका लागि शिक्षा, कृषि, खानेपानी, सहरी विकास, स्थानीय सरकार, सञ्चारमाध्यम र निजी क्षेत्रबीच समन्वय हुन आवश्यक छ।
सङ्घीय व्यवस्थामा स्वास्थ्य प्रवर्द्धनको जिम्मेवारी तीनै तहका सरकारमा रहेको उल्लेख गर्दै उनले स्थानीय आवश्यकता, भाषा, संस्कृति र परिवेशअनुसार कार्यक्रम सञ्चालन गर्न स्थानीय तहको भूमिका महत्त्वपूर्ण हुने बताइन्।
सम्मेलनमा सन् २०३० सम्मका लागि नेपालको स्वास्थ्य प्रवर्द्धनका प्राथमिकता निर्धारण, स्वास्थ्य प्रवर्द्धन प्रणालीको सुदृढीकरण, दिगो लगानी, स्वास्थ्य सेवामा समान पहुँच र जवाफदेहितालगायत विषयमा छलफल गरिएको छ।