नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवा समूहले पार्टीको १५औँ महाधिवेशन काठमाडौंको खुलामञ्चमा गर्ने तयारी गरेको छ। आगामी २१ देखि २३ मंसिरसम्म आयोजना गर्ने तय भएको महाधिवेशनका लागि खुलामञ्च बुक गरिसकिएको समूहले जनाएको छ।
देउवा समूहले गठन गरेको केन्द्रीय निर्वाचन समितिका सदस्य सचिव अमृत कार्कीका अनुसार महाधिवेशन सञ्चालनका लागि खुलामञ्चसँगै राष्ट्रियसभा गृह र भृकुटीमण्डप पनि बुक गरिएको छ।
निर्वाचन समितिले तय गरेको व्यवस्थापनअनुसार महाधिवेशनको उद्घाटन समारोह, बन्दसत्र र केन्द्रीय सदस्य पदका लागि मतदान खुलामञ्चमा हुनेछ। त्यस्तै, पार्टीका पदाधिकारी चयन गर्न राष्ट्रियसभा गृहमा मतदानको व्यवस्था गरिनेछ।
महाधिवेशनमा सहभागी प्रतिनिधिहरूका लागि खानाको व्यवस्थापन गर्न भृकुटीमण्डप बुक गरिएको सदस्य सचिव कार्कीले जानकारी दिएका छन्।
देउवा समूहले गत १५ असोजदेखि वडा अधिवेशन सुरु गरेको थियो। समूहले आगामी १५ कात्तिकका लागि जिल्ला अधिवेशनको मिति पनि निर्धारण गरेको छ।
यसरी महाधिवेशनका विभिन्न गतिविधि सञ्चालन गर्न काठमाडौंका तीन स्थान छनोट गर्दै देउवा समूहले तयारी अघि बढाएको छ।