विराटनगर। भारतको उत्तराखण्डस्थित बद्रीनाथ धामबाट देहरादुनका लागि उडेको हेलिकप्टर खराब मौसमका कारण जोशीमठ नजिकै दुर्घटनामा परेको छ। शुक्रबार भएको उक्त दुर्घटनाका बेला हेलिकप्टरमा पाँच जना तीर्थयात्री र एक पाइलट गरी ६ जना सवार थिए।
भारतीय सञ्चारमाध्यमका अनुसार ट्रान्स भारत एभिएसन प्रालिद्वारा सञ्चालित हेलिकप्टरले दिउँसो करिब १ः१४ बजे बद्रीनाथबाट उडान भरेको थियो। जोशीमठ उपत्यकामाथि उडिरहेका बेला हेलिकप्टरसँगको सञ्चार सम्पर्क टुटेको थियो। त्यसपछि ट्र्याकिङ प्रणालीबाट पनि यसको अवस्थिति पत्ता लाग्न सकेन।
उत्तराखण्डका मुख्यमन्त्री पुष्करसिंह धामी र भारतीय सेनाले घटनाको पुष्टि गरेका छन्। चमोली जिल्लाका विपद् व्यवस्थापन अधिकारी नन्दकिशोर जोशीका अनुसार ज्योतिर्मठअन्तर्गत पर्ने मारवाडी क्षेत्रको चाई गाउँ नजिकै हेलिकप्टर सम्पर्कविहीन भएको थियो।
स्थानीय बासिन्दाले जेपी ड्याममाथिको जंगलमा सेतो रङको वस्तुमा आगो लागेको देखेको सूचना दिएपछि घटनास्थलको खोजी सुरु गरिएको हो। उक्त क्षेत्रमा अवस्थाबारे जानकारी लिन अन्य हेलिकप्टरसमेत पठाइएको अधिकारीहरूले बताएका छन्।
दुर्घटनाको सूचना प्राप्त हुनासाथ राज्य विपद् प्रतिक्रिया बल (एसडीआरएफ), प्रहरी र जिल्ला प्रशासनको टोली परिचालन गरिएको छ। उद्धारकर्मीहरू पहाडी क्षेत्रमा पुगेर खोजी तथा उद्धार कार्यमा जुटेका छन्।
मुख्यमन्त्री धामीले जिल्ला प्रशासन, विपद् व्यवस्थापन निकाय र एसडीआरएफको संयुक्त टोलीले गरिरहेको उद्धार कार्यको अनुगमन गरिरहेको बताएका छन्। दुर्घटनापछि प्रभावित क्षेत्रमा खोजी अभियान तीव्र बनाइएको छ।
प्रारम्भिक रूपमा खराब मौसमलाई दुर्घटनाको सम्भावित कारण मानिएको छ। घटनापछि सुरक्षालाई ध्यानमा राख्दै शनिबारका लागि उक्त क्षेत्रमा हेलिकप्टर सेवा स्थगित गरिएको छ। हेलिकप्टरमा सवार यात्रु र पाइलटको अवस्थाबारे भने उद्धार टोलीको खोजीपछि मात्रै स्पष्ट हुने बताइएको छ।