विराटनगर। राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष राजेन्द्र लिङ्देनले ९५औँ पटक रक्तदान गरेका छन्। अस्पतालहरूमा रगतको अभाव हुन थालेपछि पार्टीले केन्द्रीय कार्यालयमा रक्तदान कार्यक्रम आयोजना गरेको हो।
शुक्रबार आयोजित कार्यक्रममा अध्यक्ष लिङ्देनले पनि रक्तदान गरेका हुन्। उनले अस्पतालहरूमा रगत अभाव भइरहेको समाचार सुनेपछि तत्काल रक्तदान कार्यक्रम आयोजना गर्ने निर्णय गरेको बताए।
लिङ्देनका अनुसार बिहीबार पार्टी कार्यालय आउँदै गर्दा सञ्चारमाध्यममा अस्पतालहरूमा रगतको अभाव हुन थालेको समाचार सुनेका थिए। त्यसपछि पार्टी कार्यालय पुग्नासाथ रक्तदान कार्यक्रम गर्ने प्रस्ताव राखेको र शुक्रबार नै कार्यक्रम आयोजना गरिएको उनले जानकारी दिए।
रक्तदानपछि अध्यक्ष लिङ्देनले रक्तदानलाई औपचारिक कार्यक्रम वा एक दिनको अभियानका रूपमा मात्र नलिन आग्रह गरे। यो जीवनभर अपनाउन सकिने सामाजिक जिम्मेवारी र मानवीय दायित्व भएको उनको भनाइ थियो। उनले पार्टीका सबै तहका नेता तथा कार्यकर्तालाई पनि रक्तदानमा सहभागी हुन आह्वान गरे।
कार्यक्रममा राप्रपा सांसद खुस्बु ओली, युवा मोर्चाका अध्यक्ष कैलाश कटुवाललगायत युवाहरूले समेत रक्तदान गरेका थिए।