विराटनगर । भौतिक तथा पूर्वाधारमन्त्री सुनिल लम्सालले सडक निर्माणको ठेक्का लिएर वर्षौँसम्म काम नगरी आयोजना अलपत्र पार्ने प्रवृत्ति अब स्वीकार्य नहुने बताएका छन्। उनले लामो समयदेखि अलपत्र रहेका सडक आयोजनाका ठेक्का सम्झौता तोडेर नयाँ प्रक्रियामार्फत निर्माण अघि बढाइने स्पष्ट पारेका छन्।
मन्त्रालय तथा सडक विभागले सूचना जारी गर्दै काम नगरी अलपत्र पारिएका सडक आयोजनाको ठेक्का अन्त्य गरी निर्माणलाई गति दिने नीति लिएको जनाएको छ। मन्त्री लम्सालले आवश्यक प्रक्रिया पूरा गरेर अधुरा आयोजनाको निर्माण अघि बढाइने बताएका हुन्।
यसैक्रममा इलाम, पाँचथर र ताप्लेजुङ जिल्लालाई जोड्ने महत्त्वपूर्ण वैकल्पिक सडक मेची करिडोर (केचना–कञ्चनजङ्घा) अन्तर्गत बेलासे–गोलाखर्क भञ्ज्याङको ९.५ किलोमिटर सडक खण्डको ठेक्का सम्झौता अन्त्य गरिएको छ।
उक्त सडक निर्माणका लागि २०७८ असार २९ गते भ्याटसहित २७ करोड २२ लाख रुपैयाँमा सम्झौता भएको थियो। निर्माण २०८० पुस २९ गतेभित्र सम्पन्न गर्नुपर्ने भए पनि पटक–पटक म्याद थप गरी कुल ६३ महिनाको समय उपलब्ध गराउँदासमेत आयोजनाको वित्तीय प्रगति ४५.२८ प्रतिशत र भौतिक प्रगति करिब ४७ प्रतिशत मात्रै पुगेको थियो।
निर्धारित समयभित्र निर्माण सम्पन्न हुन नसकेपछि ठेक्का सम्झौता अन्त्य गरिएको जनाइएको छ। अधुरो सडक निर्माणलाई निरन्तरता दिन आवश्यक स्रोत सुनिश्चित गर्नुका साथै बहुवर्षीय ठेक्काको सहमति जुटाएर नयाँ ठेक्का प्रक्रिया शीघ्र अघि बढाइने बताइएको छ।
मन्त्री लम्सालले वर्षौँसम्म सडक निर्माण अलपत्र पार्ने प्रवृत्तिलाई निरुत्साहित गर्दै अधुरा आयोजनाको निर्माण अघि बढाउन सरकार प्रतिबद्ध रहेको बताएका छन्।