काठमाडौं । चाडपर्व र जाडोयाम सुरु भएसँगै बजारमा माग बढेको भन्दै नेपाल लेयर्स कुखुरापालक संघले अन्डाको फार्म मूल्य बढाएको छ। संघले एक्सएल, ठूलो र मिडियम अन्डाको मूल्य प्रतिपेटी २०० रुपैयाँ तथा सानो अन्डाको मूल्य १०० रुपैयाँले वृद्धि गरेको हो।
बिहीबार पोखरामा बसेको संघको बैठकले अन्डाको नयाँ समर्थन मूल्य निर्धारण गरेको हो। यसअघि कात्तिक ६ गते तोकिएको मूल्यलाई छ दिनमै परिमार्जन गरिएको हो।
नयाँ मूल्यअनुसार १४.५ देखि १४.८ किलोको एक्सएल अन्डाको प्रतिपेटी मूल्य ३ हजार ७०० रुपैयाँबाट बढेर ३ हजार ९०० रुपैयाँ पुगेको छ। त्यस्तै, १३.५ देखि १३.८ किलोको ठूलो अन्डाको मूल्य ३ हजार ६०० बाट बढेर ३ हजार ८०० रुपैयाँ र १२.५ देखि १२.८ किलोको मिडियम अन्डाको मूल्य ३ हजार ५०० बाट बढेर ३ हजार ७०० रुपैयाँ कायम भएको छ।
यसैगरी ११ किलोभन्दा माथिको सानो अन्डाको प्रतिपेटी मूल्य ३ हजार १०० रुपैयाँबाट बढेर ३ हजार २०० रुपैयाँ पुगेको छ।
संघका सचिव मदन पोखरेलले चिसो मौसम र चाडपर्वका कारण अन्डाको माग बढेको बताएका छन्। उत्पादनको तुलनामा खपत बढेकाले बजारमा मागअनुसार आपूर्ति व्यवस्थापन गर्न र किसानलाई लागतअनुसार उचित मूल्य उपलब्ध गराउन नयाँ समर्थन मूल्य निर्धारण गरिएको उनको भनाइ छ।
खुद्रा मूल्य भने यथावत्
फार्म मूल्य बढे पनि उपभोक्ताले तिर्ने खुद्रा मूल्यमा भने तत्काल कुनै परिवर्तन नगरिएको संघले जनाएको छ। खुद्रा पसलमा ठूलो अन्डाको मूल्य प्रतिगोटा २५ रुपैयाँ र मिडियम अन्डाको मूल्य दुई गोटाको ४५ रुपैयाँ तोकिएको छ।
संघले डिपो, डिलर तथा व्यवसायीलाई निर्धारित समर्थन मूल्यअनुसार कारोबार गर्न अनुरोध गरेको छ।