विराटनगर । बंगालको खाडीमा विकसित चक्रवात ‘अर्नब’को प्रभावले नेपालका विभिन्न भूभागमा भारीदेखि अति भारी वर्षा हुने सम्भावना रहेको भन्दै जल तथा मौसम विज्ञान विभागले उच्च सतर्कता अपनाउन आग्रह गरेको छ।
विभागका अनुसार चक्रवातको प्रभावले आगामी शनिबारसम्म देशभर मौसम बदली भई वर्षाको मात्रा बढ्नेछ। कोशी, मधेस, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका केही स्थानमा भारी तथा एक–दुई स्थानमा अति भारी वर्षा हुनसक्ने अनुमान छ। कर्णाली र सुदूरपश्चिमका केही स्थानमा पनि भारी वर्षाको सम्भावना रहेको छ।
कर्णाली र सुदूरपश्चिममा पश्चिमी वायुको समेत प्रभाव रहने भएकाले मेघगर्जन, चट्याङ र असिनापानीको जोखिम रहेको विभागले जनाएको छ।सम्भावित जोखिमलाई मध्यनजर गर्दै विभागले आइतबार बिहानसम्मका लागि चेतावनी जारी गरेको छ।
कोशी, बागमती र गण्डकी प्रदेशका हिमाली क्षेत्रमा रेड अलर्ट जारी गरिएको छ। कोशीको पहाडी क्षेत्र, मधेस, बागमती र गण्डकीका पहाड तथा तराई, लुम्बिनीका पहाडी तथा पूर्वी तराई क्षेत्र र कर्णाली तथा सुदूरपश्चिमका हिमाली क्षेत्रमा अरेन्ज अलर्ट जारी गरिएको छ।
्बाँकी क्षेत्रमा पहेँलो अलर्ट जारी गर्दै मौसमसम्बन्धी सूचनामा अद्यावधिक रहन र आवश्यक सतर्कता अपनाउन विभागले आग्रह गरेको छ।