बागमती नदीलाई स्वच्छ बनाउने उद्देश्यसहित १४ वर्षअघि सुरु गरिएको बागमती सफाइ महाअभियान ७००औँ हप्तामा प्रवेश गरेको छ। लामो समयदेखि निरन्तर सञ्चालन हुँदै आएको अभियानका क्रममा नदी सफाइलाई प्रभावकारी बनाउँदै पशुपति क्षेत्रसम्मको बागमतीलाई स्नानयोग्य बनाउनुपर्ने माग उठेको छ।
गुह्येश्वरीस्थित अधिकार सम्पन्न वाग्मती सभ्यता एकीकृत विकास समितिको कार्यालयमा आयोजित अन्तरक्रिया कार्यक्रममा सहभागीहरूले नदीको स्वच्छता कायम गर्न दीर्घकालीन योजना र प्रभावकारी कार्यान्वयन आवश्यक रहेकोमा जोड दिएका छन्।
अभियानका मुख्य अभियानकर्मी एवं पूर्वमुख्यसचिव लीलामणि पौडेलले सफाइ अभियान सुरु भएको ५०औँ हप्तामा गुह्येश्वरी क्षेत्रमा पानी परीक्षण गरी स्नान गरिएको स्मरण गरे। तर, त्यसबेला हासिल भएको उपलब्धिलाई निरन्तरता दिन नसकिएको उनले बताए। तत्कालीन राष्ट्रपति डा. रामवरण यादवले समेत गुह्येश्वरीमा बागमतीको जल आचमन गरेका थिए।
कार्यक्रममा समितिका अध्यक्ष डा. आनन्दसिंह भाटले नदीको प्राकृतिक बहाव व्यवस्थापन गर्दै सफाइ अभियानलाई पूर्णता दिने बताए। नदीमा पानीको स्रोत र पुनर्भरण बढाउन विभिन्न स्थानमा ताल निर्माण गर्ने योजना रहेको पनि उनले जानकारी दिए।
विसं २०७० जेठ ५ गते सुरु भएको बागमती सफाइ महाअभियानअन्तर्गत प्रत्येक शनिबार बिहान दुई घण्टा नदी सफाइ हुँदै आएको छ। अभियानबाट प्रेरित भएर राजधानीका सहायक नदी, चक्रपथका विभिन्न खण्ड तथा सम्पदा क्षेत्रहरूमा पनि सरसफाइ कार्यक्रम सञ्चालन भइरहेका छन्।
महाअभियानका अनुसार काठमाडौं उपत्यकाबाहिरका प्रमुख सहर, नदी र सम्पदा क्षेत्रमा समेत सफाइ अभियान विस्तार भएको छ। हाल देशभर करिब १११ स्थानमा विभिन्न सफाइ कार्यक्रम सञ्चालन भइरहेका छन्।
सात सय हप्तासम्म निरन्तरता पाएको अभियानले नागरिक सहभागिता र वातावरण संरक्षणप्रतिको जागरूकता बढाए पनि बागमतीलाई स्वच्छ र स्नानयोग्य बनाउने लक्ष्य अझै चुनौतीपूर्ण देखिएको छ। नदीमा सफा पानीको निरन्तर बहाव कायम गर्ने, प्रदूषण नियन्त्रण गर्ने र निर्माण भएका संरचनाको उचित व्यवस्थापन गर्ने कामलाई प्रभावकारी बनाउनुपर्ने आवश्यकता औँल्याइएको छ।