विराटनगर । युवालाई सीपसँग जोड्दै स्वरोजगार र आर्थिक आत्मनिर्भरताको अवसर सिर्जना गर्ने उद्देश्यले दुहबी नगरपालिकाले बारिस्टा (कफी मेकर) तालिम सुरु गरेको छ।
दुहबी नगरपालिकाका नगर प्रमुख बेदनारायण गच्छदारले ब्यानर वाचन गरी तालिमको उद्घाटन गरेका हुन्। नगरपालिकाका विभिन्न वडाबाट छनोट भएका २० जना युवा तालिममा सहभागी छन्। तालिम ३ सय ९० घण्टा अर्थात् करिब ४९ कार्यदिन सञ्चालन हुने जनाइएको छ।
तालिममा सहभागीलाई कफी तयार गर्ने प्रविधि, बारिस्टा मेसिन सञ्चालन, विभिन्न प्रकारका कफी बनाउने तरिका तथा व्यावसायिक रूपमा क्याफे सञ्चालन गर्न आवश्यक ज्ञान र सीप प्रदान गरिनेछ। तालिमको प्राविधिक सहयोग लालीगुराँस मल्टिटेक्निकल इन्स्टिच्युट प्रा.लि., विराटनगरले गरेको छ।
तालिमको उद्घाटन गर्दै नगर प्रमुख गच्छदारले युवा सशक्तीकरण र आर्थिक आत्मनिर्भरता आफ्नो प्राथमिकता रहेको बताए। युवालाई सीप र अवसरसँग जोडेर आत्मनिर्भर बनाउने अभियानलाई नगरपालिकाले निरन्तरता दिने उनको भनाइ छ।
नगर प्रमुख गच्छदारका अनुसार आफ्नो कार्यकालको सुरुदेखि नै दुहबीमा युवालक्षित सीपमूलक तथा व्यावसायिक तालिम, बीउ पुँजी र उद्यमशीलता प्रवर्द्धनका कार्यक्रम सञ्चालन हुँदै आएका छन्। यस्ता कार्यक्रमबाट हालसम्म करिब १ हजार युवा आत्मनिर्भरताको बाटोमा अघि बढेको उनले दाबी गरे।
“युवालाई रोजगारी खोज्ने मात्र होइन, आफैं रोजगारी सिर्जना गर्न सक्ने बनाउन आवश्यक छ,” नगर प्रमुख गच्छदारले भने, “युवा सशक्तीकरण र आर्थिक आत्मनिर्भरताको अभियानलाई आगामी दिनमा पनि निरन्तरता दिइनेछ।”
स्थानीय युवालाई सीपयुक्त बनाउँदै स्वदेशमै रोजगारी तथा स्वरोजगारका अवसर सिर्जना गर्ने लक्ष्यसहित नगरपालिकाले आगामी दिनमा पनि यस्ता व्यावसायिक तथा सीपमूलक कार्यक्रमलाई प्राथमिकतामा राख्ने जनाएको छ।