विराटनगर । जन्मदिनको अवसरमा प्राप्त तथा संकलित रकम व्यक्तिगत खर्चमा नभई विपद्मा परेका परिवारको सहयोगमा समर्पित गर्दै विराटनगरका बालबालिकाले सामाजिक उत्तरदायित्वको उदाहरण प्रस्तुत गरेका छन्।
विराटनगरस्थित किड्स भिलेज स्कुलका नानीबाबुहरूले आफ्नो जन्मदिनमा जम्मा भएको रकम भोटेकोशी क्षेत्रमा आएको विनाशकारी बाढीबाट प्रभावित परिवारको सहयोगका लागि प्रदान गरेका हुन्। बालबालिकाबाट संकलित ३४ हजार ८ सय ६५ रुपैयाँ प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा गरिसकिएको विद्यालयले जनाएको छ।
भोटेकोशी क्षेत्रमा आएको बाढीबाट ठूलो जनधनको क्षति हुनुका साथै प्रभावित परिवारले कठिन परिस्थितिको सामना गरिरहेका बेला बालबालिकाले आफ्नो खुसीलाई पीडितसँग बाँड्ने निर्णय गरेका हुन्।
विद्यालयकी एकेडेमिक डाइरेक्टर निरु पौडेलका अनुसार सानै उमेरदेखि बालबालिकामा सहयोग, करुणा, सेवा र सामाजिक जिम्मेवारीको भावना विकास गराउने उद्देश्यले यस्तो पहल गरिएको हो। जन्मदिनमा प्राप्त खुसीलाई विपद्मा परेका परिवारसँग बाँड्ने संस्कारले बालबालिकालाई मानवीय संवेदना र सामाजिक उत्तरदायित्वप्रति थप जिम्मेवार बनाउन सहयोग पुग्ने उनको भनाइ छ।
त्यस्तै, विद्यालयका म्यानेजिङ डाइरेक्टर पंकज जैनले बालबालिकाबाट संकलित रकम बाढीपीडितको सहयोगका लागि प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा गरिएको जानकारी दिए।
‘हाम्रो खुसी, विपद्मा परेकाका लागि सहयोग बनोस्’ भन्ने भावनासहित गरिएको यो पहलले बालबालिकाको सानै उमेरदेखि सामाजिक सेवाप्रतिको रुचि र मानवीय संवेदनशीलताको सकारात्मक सन्देश दिएको छ।