विराटनगर । बराहक्षेत्र नगरपालिका–१० घर भई हाल इटहरी उपमहानगरपालिका–५ मा कोठा गरी बस्दै आएका ३३ वर्षीय आशिष मगरलाई लागूऔषधसहित प्रहरीले पक्राउ गरेको छ।
कोशी प्रदेश प्रहरी कार्यालय विराटनगरबाट खटिएको विशेष टोली तथा इलाका प्रहरी कार्यालय इटहरी, सुनसरीबाट खटिएको संयुक्त टोलीले गोप्य सूचनाको आधारमा उनको कोठामा छापा मारेको हो।
उक्त कोठामा खैरो हिरोइन जस्तो देखिने धुलो पदार्थ बिक्री–वितरण भइरहेको भन्ने सूचनापछि प्रहरी परिचालन गरिएको थियो।
तलासीका क्रममा प्लास्टिकसहित तौल गर्दा ३ ग्राम ३९० मिलिग्राम र प्लास्टिक हटाएर डिजिटल तराजुमा तौल गर्दा ३ ग्राम ८० मिलिग्राम खैरो हिरोइन जस्तो देखिने धुलो पदार्थ फेला परेको प्रहरीले जनाएको छ।
घटनास्थलबाट आशिष मगरसँगै उनकी २२ वर्षीया श्रीमती ममता माझी मगरलाई पनि नियन्त्रणमा लिइएको छ।
उनीहरूलाई इलाका प्रहरी कार्यालय इटहरीमा राखी थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।