काठमाडौं। अमेरिका र इजरायलले इरानमा आक्रमण सुरु गरेपछि बढेको तनावका कारण अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्य चार वर्षयताकै उच्च पुगेको छ। ताजा तथ्यांक अनुसार कच्चा तेलको मूल्य प्रतिब्यारेल ११९.७६ डलर पुगेको छ, जुन सन् २०२२ को जुन महिनायताकै उच्च स्तर हो।
यसअघि रुस–युक्रेन युद्धका कारण सन् २०२२ को फेब्रुअरी–मार्चतिर कच्चा तेलको मूल्य करिब १३० डलर प्रतिब्यारेलसम्म पुगेको थियो। हालको मूल्यवृद्धिमा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको पछिल्लो अभिव्यक्तिले पनि प्रभाव पारेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यम द गार्डियनले जनाएको छ। ट्रम्पले इरानका बन्दरगाहहरूमा सैन्य नाकाबन्दी जारी राख्ने र इरानले परमाणु कार्यक्रमबारे सम्झौता नगरेसम्म दबाब कायम रहने बताएका छन्।
तनावको प्रत्यक्ष असर स्ट्रेट अफ होर्मुजमा परेको छ, जुन विश्वभर तेल ढुवानी हुने महत्वपूर्ण समुद्री मार्ग हो। यहाँ असुरक्षाको अवस्था बढ्दा सयौँ तेल ट्यांकर र पानीजहाज अलपत्र परेका छन्, जसका कारण तेल र ग्यास आपूर्तिमा अवरोध आउँदा विश्व बजारमा महँगी बढ्न थालेको छ।
तनाव समाधानका लागि अमेरिका र इरानबीच पाकिस्तानमा वार्ताको पहल भइरहे पनि अहिलेसम्म कुनै ठोस उपलब्धि हासिल हुन सकेको छैन।