पाँच पटक नेपालको प्रधानमन्त्री र लामो समय कांग्रेस सभापति बनिसकेका शेहबहादुर देउवा निकट भविष्यमा प्रहरीको हिरासतमा हुनेछन् । वर्तमान रास्वपा नेतृत्वको सरकारले देउवा दम्पत्तिलाई सम्पत्ति शुद्धीकरण अनुसन्धानका लागि समात्न अनुमति लिइसकेको छ । उपचारका लागि भन्दै हाल हङकङमा रहेका शेरबहादुर र उनकी पत्नी डा. आरजु देउवालाई पक्राउ गर्नका गृह मन्त्रालयले इन्टरपोलमार्फत् नोटिस जारी गर्ने थालेको छ ।
तथापि, नेपालका नामी नेता देउवा र उनकी पत्नी आफैं स्वदेश फर्किन सक्नेछन् । यदि, उनीहरू स्वदेश नफर्कने मनसायका साथ प्रहरीको सम्पर्कमा नआएमा नेपाल प्रहरी कुटनीतिक पहल गर्ने वा रेड नोटिसको आधारमा पक्राउ गरी नेपाल ल्याउन सक्छ । उनीहरू पक्राउ परेमा पटकपटक प्रधानमन्त्री बनेका देउवा र पति देशकै कार्यकारी हुँदा प्रथम महिलाका रूपमा राज्य शक्ति चलाउने सामर्थ्य राख्ने आरजु पनि प्रहरीको खोरमा हुनेछिन् ।
शाही शासनकालका केही सीमित अवधिमा बाहेक प्रजातन्त्र पुनर्स्थापनापछि निरन्तर सार्वजनिक पदमा छन्, देउवा । कहिले एक्लै त कहिले गठबन्धनको सहयोगमा पटकपटक सत्तामा पुगेका देउवा आफ्नी पत्नी आरजुले देखाएको बाटोमा चल्थिन् पनि भनिन्छ । आरजु २०७० को दशकपछि कांग्रेसको राजनीतिमा प्रत्यक्ष प्रवेश गरेकी थिइन्, पतिको सहायता लिएर उनी दुईपटक संसदमा पुगिन् भने एकपटक परराष्ट्रमन्त्री भइन् ।
२०८० सालमा रास्वपा सभापति रवि लामिछाने गृहमन्त्री भएपछि त्यसबेलाको चर्चित नक्कली भुटानी शरणार्थी प्रकरणमा समात्न खोज्दा आरजुले रातारात प्रचण्ड नेतृत्वको सरकार ढालेर सत्तामा केपी शर्मा ओलीलाई पुर्याइन् । कांग्रेस-एमालेले सत्ता साझेदारी गरेपछि आरजुलाई समात्न खोज्ने रविले उल्टै जेल जानु परेको थियो । देउवा भने छैंटौ पटक प्रधानमन्त्री बन्न पालो कुरेर बसेका थिए ।
तर, ६ पटक प्रधानमन्त्री बन्ने उनको सपना गत भदौमा भएको जेनजी आन्दोलनले तुहाइदियो । भदौयता भने देउवा परिवारमा पटकपटक बज्रपात परिरह्यो । जेनजी आन्दोलनमा देउवा दम्पत्तिमाथि मुक्का बज्रिएन घर पनि जल्यो । घरसँगै उनीहरूले थुपारेको पैसा पनि खरानी भयो । यता छोरा जयवीरले चलाउँदै आएको हिल्टन होटल पनि जेनजी आन्दोलनमा जलेर सखाप भयो । अझ, विशेष अधिवेशनका नाममा कांग्रेस सभापतिको पद पनि खोसियो । त्यसपछि चुनावको मुखैमा उनीहरू उपचार गराउने बाहनामा विदेश गएर बस्नुपर्ने बाध्यता आइपर्यो ।
र, अहिले उनीहरूमाथि प्रहरी हिरासतसम्म पुग्नुपर्ने दिन पनि आइपुग्न लागेको छ । चुनावपछि बनेको रास्वपाको शक्तिशाली सरकारले पूर्वप्रधानमन्त्री देउवा, पूर्वपरराष्ट्रमन्त्री आरजु र उनीहरूको परिवारबाट अस्वाभाविक कारोबार भएको भेटिएपछि सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागमार्फत् देउवा दम्पतीविरुद्ध पक्राउ पूर्जी जारी गरेको छ । उनीहरूको चलअचल सम्पत्ति छानबिनका क्रममा अस्वाभाविक आर्जन भेटिएको ठहर विभागको छ ।
पछिल्लो एकाध वर्षको अवधिमा शेरबहादुर र आरजुका एक्ला छोरा जयवीरले काठमाडौं उपत्यका र बाहिरसमेत जोडेको करिब ७३ रोपनी जग्गाको सम्पत्तिको स्रोत सबैभन्दा शंकास्पद प्रकृतिको छ । लहरो तान्दा पहरो भेटियो भनेझैं यही विषय केलाउँदै जाँदा अरू शंकास्पद कारोबारहरू भेटिएको छ ।
यसअघि नै राजनीतिबाहेक अरू पेशामा नभएका देउवा दम्पतीले गैरकानुनी रूपमा सम्पत्ति आर्जन गरेको आरोपसहित अख्तियार र सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागमा दर्जनौं उजुरी थिए । तर, सत्ताको पेरिफेरिमा रहेका उनीहरूमाथि अहिलेसम्म अनुसन्धान हुन सकेको थिएन । हाल नयाँ सरकारले पुरानो फाइल टकटक्याएर जयवीरले किनेको जग्गा, देउवा दम्पतीको घरजग्गा र बैंकखातामाथि अनुसन्धान गरिरहेको छ ।बूढानीलकण्ठको जग्गा र त्यहाँ बनेको घरमाथि समेत अनुसन्धान गर्ने विभागको तयारी छ । त्यहाँको जग्गा भने डा. आरजुको माइतीले किनेर देउवा परिवारलाई दिएको भनी उनीहरूको दाबी छ ।