सुनसरी । सुनसरी जिल्लाको देवानगंज गाउँपालिका–२, देवानगंज बजारस्थित देवानगंज–मध्यहर्षाही भित्री सडक खण्डमा मोटरसाइकल दुर्घटना हुँदा एक जना चालक गम्भीर घाइते भएका छन्।
राजगंज सिनुवारीबाट देवानगंज बजारतर्फ आउँदै गरेको नम्बर नखुलेको मोटरसाइकल आफैं अनियन्त्रित भई दुर्घटना भएको हो। दुर्घटनामा मोटरसाइकल चालक देवानगंज गाउँपालिका–६ निवासी अन्दाजी ६२ वर्षीय जोगिन्द्र मेहताको टाउको तथा शरीरका विभिन्न भागमा चोट लागेको प्रहरीले जनाएको छ।
घाइते मेहताको अवस्था बोल्न नसक्ने गम्भीर रहेको र उपचारका लागि पारस अस्पताल, विराटनगर लगिएको छ। मोटरसाइकल आफन्तले अस्पताल पुर्याएको बुझिएको छ भने थप विवरण संकलनको पहल भइरहेको प्रहरीले जनाएको छ।
दुर्घटना भएको स्थान ट्राफिक पोस्ट हरिनगराबाट करिब ७ किलोमिटर दक्षिणमा पर्छ। मोटरसाइकलका कागजपत्र तथा मादक पदार्थ सेवन (मापसे) सम्बन्धी विवरण खुल्न नसकेको जनाइएको छ। प्रारम्भिक अनुसन्धानअनुसार चालकले सडकमा ध्यान नदिई तीव्र गतिमा मोटरसाइकल चलाउँदा दुर्घटना भएको अनुमान गरिएको छ।