काठमाडौं । नेकपा (एमाले)को ओखलढुंगा जिल्ला कमिटी नै नेपाली कम्युनिस्ट पार्टी (नेकपा)मा प्रवेश गरेको छ।
शुक्रबार काठमाडौंको नवदुर्गा पार्टी भेन्युमा आयोजित कार्यक्रममा एमाले ओखलढुंगाका जिल्ला अध्यक्ष ज्ञानबहादुर खड्का, उपाध्यक्ष कमलप्रसाद न्यौपाने, सचिव अशोक थापा, उपसचिव राजिव कट्वालसहित ३८ जना नेता–कार्यकर्ता नेकपामा समाहित भएका हुन्।
यसअघि उनीहरूले काठमाडौंमा पत्रकार सम्मेलन गर्दै एमालेबाट राजीनामा दिएको औपचारिक घोषणा गरेका थिए।
प्रतिनिधिसभा निर्वाचनका लागि जिल्ला कमिटीको सिफारिस बेवास्ता गर्दै अध्यक्ष केपी शर्मा ओलीले आफ्ना निकटताका आधारमा अस्मिता थापालाई उम्मेदवार बनाएको आरोप उनीहरूको छ।
जिल्ला कमिटीबाट अम्बिरबाबु गुरुङ, यज्ञराज सुनुवारसहित पाँच जनाको नाम सिफारिस भए पनि त्यसलाई बेवास्ता गर्दै उम्मेदवार तोकिएको भन्दै उनीहरूले निर्णयलाई स्वेच्छाचारी भनेका छन्।
उम्मेदवार छनोटप्रति असन्तुष्टि जनाउँदै पार्टी परित्याग गरेका अम्बिरबाबु गुरुङलाई नेकपाले आफ्नो उम्मेदवार बनाएको छ।