एजेन्सी । लामो समयदेखिको खडेरीले आहत भएका महोत्तरीका किसान वर्षा भएसँगै खुसी भएका छन् । सोमबारयता लगातार पानी परेपछि किसानहरूमा रोपो जाग्ने आश बढेको छ । पछिल्लो पटक गएराति जिल्लाका अधिकांश ठाउँमा पर्याप्त चिस्यान हुनेगरी पानी परेको छ । यस्तै गत बिहीबार र सोमबार पनि पानी परेको थियो । भङ्गाहा–३ कटैयाका किसान विजय यादवले पछिल्ला तीन दिनको वर्षाले खेतीमा निकै राहत मिलेको बताए । यसअघि इनार, बोरिङ्गर स्यालोट्युवबेलबाट पम्पसेट लगाएर रोपेको धान अब भने जाग्ने आश बढेको किसानले बताएका छन् । पछिल्ला तीन दिन परेको पानीले थप रोपाइँ नबढे पनि यसअघि रोपिएको धानलाई भने निकै राहत मिलेको किसानको भनाइ छ । प्रचण्ड रापले पहेँलिँदै गएको रोपो वर्षाले निकै फेरिएको बर्दिबास–७ प्रेमनगरका किसान रामउद्गार महतोले बताए ।
वर्षाले धानको रोपोसँगै उखु, सागसब्जी, मकै र कोदोसहितका बालीलाई चिस्यान मिलेको भङ्गाहा–४ रामनगरका ७५ वर्षीय किसान इस्लाम राइनले बताए । लामो रौदी (खडेरी) ले उखुका टुप्पा खङरङ्ग सुक्दै गएका थिए, पछिल्लो वर्षाले राम्रो चिस्यान भएपछि जादुजस्तै भएको छ, उखुका बोट फेरिँदै छन्,’ उनले भने । यो वर्षाले धानबाहेकका बालीलाई अलिबारलाई पर्याप्त चिस्यान भएको छ । धानको रोपोमा भने गह्रामा भरिनेगरी पानी चाहिएको किसान बताउँछन् । यसपालि लामो खडेरीले गर्दा महोत्तरीमा धान रोपाइँ निकै पछि सरेको छ । जिल्लाको कूल धानखेतीयोग्य जग्गा ४२ हजार ५०० हेक्टर मानिन्छ । तर साउन तेस्रो साता सुरू भइसक्दासम्म जिल्लामा ३५ प्रतिशत रोपाइँ नकटेको कृषि ज्ञान केन्द्र महोत्तरी कार्यालयले जनाएको छ ।रोपाइँ थप बढाउने गरी पानी पर्न नसके पनि पछिल्लो वर्षाले यसअघिको रोपोलाई भने निकै राहत दिएको कार्यालयका वरिष्ठ कृषि विकास अधिकृत देवानन्द यादवले बताए ।