नेपालमा कोरोना सङ्क्रमण पुष्टि भएको छ । इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा (इडिसिडी)का निर्देशक डा. चन्द्रभाल झाले नियमित परीक्षण गर्दा सात जनामा कोरोना पुष्टि भएको जानकारी दिए । उनका अनुसार एक जना राष्ट्रिय प्रयोगशालामा र छ जना काभ्रेमा गरी सात जनामा कोरोना पुष्टि भएको हो ।
कोरोना सङ्क्रमितको स्वास्थ्य सामान्य रहेको डा. झाले जानकारी दिए। उनका अनुसार ,“कोरोना पुष्टि भएका सङ्क्रमित निको भएर घर गइसके।” राष्ट्रिय प्रयोगशालाका प्रवक्ता सन्तोष सुवेदीले प्रयोगशालाले नियमित कोरोना परीक्षण गर्दै आएको जानकारी दिए ।
विश्व स्वास्थ्य संगठनले विभिन्न देशमा देखिएको कोरोना कडा नभएकोले नआत्तिन आग्रह गरेको छ। नेपाल लगायत अन्य देशमा देखिएको कोरोना सामान्य रहेको सरुवा रोग विशेषज्ञ डा. शेरबहादुर पुनले जानकारी दिए।
ज्येष्ठ नागरिक, गर्भवती, बालबालिका, दीर्घ रोगीलाई कोरोना सङ्क्रमण भएमा गम्भीर लक्षण देखिन सक्ने भन्दै सचेत रहन डा. पुनले आग्रह गरेका छन् । कोरोना फैलन नदिन भीडभाडमा जाँदा पहिलेको जस्तै जनस्वास्थ्यका मापदण्ड अपनाउन आग्रह गरेका छन् । “अहिले देखिएको कोरोना सामान्य रुघाखोकी जस्तै भइसकेको छ। दीर्घरोगी, ज्येष्ठ नागरिक, गर्भवती, बालबालिकालाई भने विशेष ख्याल गर्नुपर्छ।”
नेपालमा थप कोरोना संक्रमित फैलन नदिन सीमा नाकामा हेल्थ डेस्क राखेको इडिसिडीका निर्देशक डा. झाले जानकारी दिए। उनका अनुसार, “सातै प्रदेशका स्वास्थ्य निर्देशनालयलाई तयारी अवस्थामा रहन निर्देशन दिएका छौँ। आवश्यक परेमा परीक्षण किट तुरुन्तै पठाउने तयारी छ।’’