विराटनगर । पहिलो संस्करणको नेपाल प्रिमियर लिग (एनपिएल) शनिबारबाट सम्पन्न भयो । तर, एनपिएलको धङधङी भने अहिलेसम्म सकिएको छैन ।
आठ टोली सहभागी रहेको एनपिएलको उपाधि जित्दै जनकपुर बोल्ट्सले एक करोड १० लाख रुपैयाँ हात पार्यो । उपविजेता बनेको सुदूरपश्चिम रोयल्सले ५१ लाखमा चित्त बुझायो ।
कोशीको सान भन्ने नाराका साथ एनपिएलमा सहभागिता जनाएको विराटनगर किंग्स भने प्ले अफसम्म पनि पुग्न पाएन । राष्ट्रिय टोलीका पूर्वकप्तान सन्दीप लामिछाने सम्मिलित विराटनगरले सातमध्ये पाँच खेलमा पराजय बेहोर्यो ।
तर, दोस्रो संस्करणको एनपिएलमा भने बलियो बनेर फर्किने फेस अफ विराटनगर किंग्सका रूपमा रहेकी गायिका रचना रिमालले दाबी गरेकी छन् ।
आइतबार सामाजिक सञ्जालमा लेख्दै रिमालले खेलाडीहरूको राम्रो गर्दागर्दै पनि टिमको प्रदर्शन औसत रहेको बताएकी छन् ।
उनले लेखेकी छन् :
नेपाल प्रिमियर लिगको पहिलो संस्करण भव्यताका साथ सम्पन्न भएको छ । पहिलो संस्करणमा नै म खेलकुदको एक समर्थकलाई विश्वास गरेर विराटनगर किंग्सले ‘फेस अफ विराटनगर किंग्स’ को रूपमा आबद्ध गराउनु हुने ‘विराटनगर किंग्स’ सँग आबद्ध सम्पुर्णमा धेरैभन्दा धेरै धन्यवाद । आफू टिमसँग आबद्ध हुँदा थुप्रै कुरा सिक्ने अवसर प्राप्त गरेकी छु । यस पटक हाम्रो खेलाडीहरूले आफूले सकेको राम्रो गर्दागर्दै टिमको प्रदर्शन औसत रह्यो । तर, हामी विश्वस्त छौँ, अर्को संस्करण हामी बलियो बनेर फेरि आउँनेछौँ ।
नेपाल प्रिमियर लिग नेपाली क्रिकेट विकासको लागि एक कोशेढुंगा साबित हुने पक्का छ । पहिलो संस्करणमा नै यसले पाएको लोकप्रियता लोभ लाग्दो छ । हामी समर्थकहरू र स्वयम् खेलाडीहरूका लागि अन्य ठुलो पर्वजत्तिकै उत्साहित र उमंगमय बनेको छ । यस प्रतियोगिताले कोरेको यो बाटोले समग्र नेपाली खेल क्षेत्रमा नै सकरात्मक प्रभाव पार्ने छ भन्नेमा विश्वस्त छु । जय खेलकुद ।