विराटनगर । अब ‘पिक आवर’ मानिने साँझको समयमै औद्योगिक क्षेत्रमा विद्युत् कटौती हुने देखिएको छ ।
४५६ मेगावाटको माथिल्लो तामाकोशीबाट उत्पादन सुरु नभएसम्म बढी विद्युत् माग हुने साँझको समयमा औद्योगिक क्षेत्रको विद्युत् केही कटौती हुने देखिएको हो ।
हिउँदयाम सुरुसँगै खोला तथा नदीहरूमा पानी घट्दा देशभित्रका नदी प्रवाही जलविद्युत आयोजनाहरूको उत्पादन क्षमताभन्दा एक तिहाइ घट्ने छ ।
अझ पिक समयमा आन्तरिक माग धान्न भारतबाट विद्युत् आयात गर्न नपाउँदा औद्योगिक क्षेत्रको विद्युत केही कटौती गर्नुपर्ने देखिएको हो ।
चिसोका कारण यही समयमा विद्युतकाे माग बढ्छ । तर, नेपालको विद्युत प्रणालीमा सबैभन्दा बढी हिस्सा रहेको जलविद्युत् आयोजनाहरूको उत्पादन भने घट्ने अवस्था छ ।
हिउँदयामको विद्युत् माग र आपूर्ति व्यवस्थापन गर्न यो समयमा भारतबाट विद्युत् आयात गर्नुपर्छ ।
यस वर्ष झनै सञ्चालनमा रहेका जलविद्युत् आयोजनाहरुमध्ये सबैभन्दा ठुलो ४५६ मेगावाटको माथिल्लो तामाकोशीबाट उत्पादन बन्द छ ।
यसकारण हिउँदयामको पिक समयको विद्युत् व्यवस्थापनमा समस्या भइरहेको नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङको भनाइ छ ।
पिक समयमा औद्योगिकबाहेक अन्य ग्राहकको विद्युत् आपूर्ति कटौती गर्नुपर्ने अवस्था भने छैन ।
असोज ११ र १२ गतेको अविरला वर्षाका कारण माथिल्लो तामाकोशीका संरचनामा क्षति पुर्याएको थियो ।
आगामी पुस १० गतेभित्र विद्युत् उत्पादन सुरु गर्ने र त्यसको १५ दिनभित्रमा पिक समयमा चलाउने गरी माथिल्लो तामाकोशीको मर्मतसम्भार भइरहेको छ ।
विद्युत् माग कम हुने समयमा पानी जम्मा गरी आयोजनालाई पिक समयका चार घण्टा पूर्ण क्षमतामा चलाउन सकिन्छ ।
भारतको केन्द्रीय विद्युत प्राधिकरणले नेपाल विद्युत प्राधिकरणलाई आगामी चैत २ गते (१५ मार्च २०२५)सम्म ढल्केबर–मुजफ्फपुर ४०० केभी क्रसबोर्डर प्रसारण लाइनमार्फत ६०० मेगावाट र टनकपुर–महेन्द्रनगर १३२ केभी प्रसारण लाइनबाट ५४ मेगावाट गरी दैनिक रुपमा ६५४ मेगावाटसम्म विद्युत् आयात अनुमति दिएको छ ।
तर पिक समय साँझ ५ देखि रातको ९ बजेसम्म भने विद्युत् आयात गर्न नपाउने व्यवस्था छ ।
त्यसपछि ३ चैत २०८१– १६ असार २०८२ (१६ मार्च–३० जुन २०२५) सम्म सोलार आवर अर्थात् बिहान ६ बजेदेखि साँझ ६ बजेसम्म मात्र आयात गर्न पाउने स्वीकृति दिइएको छ ।
माथिल्लो तामाकोशी पनि बन्द रहेको र पिक समयका चार घण्टा भारतबाट विद्युत् आयात गर्नसमेत नपाउँदा औद्योगिक क्षेत्रको विद्युत् केही कटौती गर्नुपर्ने बाध्यात्मक अवस्था सिर्जना भएको छ ।
पिक समयमा प्राधिकरणले आयात अनुमति पाएको छैन । माथिल्लो तामाकोशी सञ्चालनमा रहेको भए दिउँसो बढी आयात गरी तामाकोशीको जलाशयमा पानी जम्मा गरी पिक समयमा चलाउन सकिन्थ्यो । तर, माथिल्लो तामाकोशीको मर्मत तीव्र गतिमा भइरहेको छ । आयोजना सञ्चालनमा नआएसम्म औद्योगिक क्षेत्रमा पिक समयमा विद्युत् केही कटौती गर्नुपर्ने अवस्था देखिएको हो ।
गत शुक्रबार बिहान साढे बजेतिर ढल्केबर–नवलपुर १३२ केभी प्रसारण लाइनको तार (कन्डक्टर) चुँडिंदा ढल्केबर पश्चिमका बारा र पर्सा औद्योगिक करिडोरमा विद्युत् आपूर्ति प्रभावित भएको थियो । उक्त लाइनको मर्मत गरी सोमबार दिउँसोबाट सञ्चालनमा ल्याइएपछि विद्युत् आपूर्ति नियमित भएको छ ।
यसैगरी, दर्चुलाको चमेलियादेखि कैलालीको अत्तरियासम्मको १३२ केभी प्रसारण लाइनअन्तर्गत बैतडी खोचलेक भन्ने स्थानमा रुख ढलेर एउटा सर्किटमा क्षति पुगेको छ । उक्त लाइनको मर्मत भइरहेको छ ।