विराटनगर । नेपालको फेन्सिङका पूर्वखेलाडी तथा राष्ट्रिय टोलीका प्रशिक्षक जलेन्द्रबहादुर शाही युरोपमा लुकेर बसेका छन् ।
उनी हंगेरीको बुढापेस्टमा तीन महिनाको लेभल-२ प्रशिक्षण लिन पुगेको त्यहाँ पुगेका थिए । तर, छोरा बिरामी भएको बाहनामा उनी उतै लुकेका हुन् ।
युरोपमै लुकेपछि शाहीलाई नेपाल फेन्सिङ संघले सबै किसिमको जिम्मेवारीबाट मुक्त गरी कारबाही गरेको छ ।
शाही कैलाली जिल्ला फेन्सिङ संघका अध्यक्ष र सुदूरपश्चिम प्रदेश फेन्सिङ संघका उपाध्यक्ष हुन् ।
संघले तीन महिनासम्म चलेको लेभल २ को प्रशिक्षणमा फेन्सिङका मुख्य प्रशिक्षक बनाउन नै शाहीलाई हंगेरीमा पठाएको हो ।
राष्ट्रिय फेन्सिङ टोलीका मुख्य प्रशिक्षण गर्न कम्तीमा लेभल २ कोर्स पास गर्नुपर्छ ।
यो लेभल २ कोर्स पास गरेलगत्तै शाहीले मुख्य प्रशिक्षक जिम्मेवारी पाउने पक्का थियो ।
फेन्सिङका खेलाडी तथा प्रशिक्षकलाई एक्सपोज गर्न अन्तर्राष्ट्रिय फेन्सिङ महासंघले लेभल २ कोर्स कार्यक्रम आयोजना प्रत्येक वर्ष आयोजना गरिरहेको हुन्छ ।
राष्ट्रकै इज्जत नराम्रो बनाएका व्यक्तिलाई तत्कालै नेपाल फर्काउन नेपाल फेन्सिङ संघले हंगेरीमा रहेको दूतावासमा पत्र पठाएको छ ।
पछिल्लो समय शाहीको सोसल मिडियामा उनले स्पेनको विभिन्न सहरबाट पोस्ट गरेका छन् ।
संघले पनि उनी अहिले पनि स्पेनमा रहेको अनुमान गरेको छ ।
अन्तर्राष्ट्रिय फेन्सिङ महासंघले बुढापेस्टमा रहेको फेन्सिङ एकेडेमीमा लेभल २ कोर्स आयोजना गरेको थियो ।
त्यसै एकेडेमीमा विभिन्न राष्ट्रबाट आएका खेलाडी तथा प्रशिक्षकहरूलाई राखेको थियो ।