विराटनगर। यूईएफए नेसन्स लिग फुटबल प्रतियोगितामा जर्मनीले कीर्तिमानी जित हासिल गरेको छ । शनिबार राति भएको खेलमा बोस्निया–हर्जगोभिनामाथि ७–० गोलको विशाल अन्तरको जित निकाल्दै जर्मनीले कीर्तिमान कायम गरेको हो ।
यस जित नेसन्स लिग इतिहासमै सबैभन्दा ठुलो अन्तरको जित हो । जर्मनीको जितमा टिम क्लेनडेन्स्ट र फ्लोरियल विट्जले दुई–दुई गोल गरे भने जमाल मुसियला, काइ हाभेर्ट्ज र लेरोए सानेले एक–एक गोल गरे ।
खेल सुरु भएको दोस्रो मिनेटमै मुसियालाले गोल गर्दै अग्रता दिलाएका थिए ।
२३औं मिनेटमा क्लेनडेन्स्टले गोल गर्दै टोलीको अग्रता दोब्बर बनाए । त्यसैगरी ३७औं मिनेटमा हाभेर्ट्जले गोल गर्दै पहिलो हाफमा टोलीलाई ३–० ले अगाडि राखे ।
दोस्रो हाफमा जर्मनीले चार गोल थप्यो । फ्लोरियनले ५०औं र ५७औं मिनेटमा गोल गर्दै टोलीको अग्रता अझ फराकिलो बनाए ।
६६औँ मिनेटमा सानेले गोल गर्दा क्लेनडेन्स्टले ७९औं मिनेटमा गोल गर्दै जर्मनीको ७–० को जित पक्का गरे ।यसअघि नै नेसन्स लिग फुटबलको क्वार्टरफाइनलमा प्रवेश गरिसकेको जर्मनीले योसँगै ५ खेलमा १३ अंक जोडेको छ । हार व्यहोरेको बोस्निया–हर्जगोभिना भने नेसन्स लिगको दोस्रो श्रेणीमा खस्कने भएको छ ।