विराटनगर । विराटनगरमा जारी नरेश श्रेष्ठ मेमोरियल वाई वाई पुरुष यु–१९ राष्ट्रिय क्रिकेट प्रतियोगितामा सुदूरपश्चिम र मधेश प्रदेशले विजयी भएका छन् ।
प्रतियोगिताअन्तर्गत मंगलबार बैजानाथपुरको गिरिजाप्रसाद कोइराला खेल मैदानमा भएको खेलमा सुदूरपश्चिमले कर्णाली प्रदेशलाई ५ विकेटले पराजित गरेको हो ।
टस जितेर ब्याटिङ गरेको कर्णालीले निर्धारित ५० ओभरको खेलमा ३० दशमलव ५ बलमा सबै विकेट गुमाई ७४ रनको झिनो योगफल बनायो ।
कर्णालीका कप्तान मनिष थापाले सर्वाधिक ४२ रन बनाउनुबाहेक अन्य ब्याटरले दोहोरो अंक ल्याउन सकेनन् ।
सूदुरका नरेन साउदले सर्वाधिक ५ विकेट विकेट लिए । उनले ९ ओभरमा ४ मेडन ओभर गर्दै ९ रन मात्र दिए । साउद खेलको प्लेयर अफ म्याचसमेत भए ।
७५ रनको झिनो लक्ष्य पाएको सुदूरले १८ दशमलव १ बलमा ५ विकेट गुमाउँदै सो लक्ष्य पार गरेको थियो ।
सुदूरका नरेन भट्टले २८ रन बनाउँदा युवराज खत्रीले २३रन जोडे कर्णालीका युनिश ठकुरीले सर्वाधिक ३ १ विकेट लिए ।
सुदूरको दुई खेलमा २ अंक छ भने कर्णालीले खेलेको दुवै खेलमा पराजित भएसँगै अंक विहिन छ ।
त्यसैगरी, मेर्लिबोन ज्वाला क्रिकेट मैदानमा आजै भएको अर्काे खेलमा मधेशले वागमती प्रदेशलाई ४६ रनले पराजित गरेको छ ।
टस हारेर ब्याटिङ गरेको मधेशले निर्धारित ५० ओभरको खेलमा ४६ दशमलव ३ बलमा सबै विकेटको क्षतिमा १ सय ४२ रन बनायो ।
मधेशका इमरान शेखले सर्वाधिक ५४ रन बनाए । वागमतीका दयानन्द मण्डलले सर्वाधिक ३ विकेट विकेट लिए ।
एक सय ४३ रनको विजयी लक्ष्य पाएको वागमती ३९ दशमलव ४ बलमा सबै विकेट गुमाउँदै ९६ रन मात्रै बनाउन सक्यो ।
वागमतीमा रिङजिन लामाले सर्वाधिक नटआउट ३५ रन बनाए । मधेशका राजेश यादवले ३ विकेट लिँदा अफ्रुदिन रैनले पनि ३ विकेट लिए ।
प्लेयर अफ द म्याच मधेशका इमरान शेख भए । ३ खेलमा २ खेल जित हात पारेको मधेश ४ अंकका साथ दोस्रो स्थान छ भने वागमतीको २ खेलमा १ खेलमा जित हात पार्दै पाँचौं स्थानमा रहेको छ ।
मंगलबार बैजानाथपुरको गिरिजाप्रसाद कोइराला खेल मैदानमा लुम्विनी र कर्णाली प्रदेश तथा मेर्लिबोन ज्वाला क्रिकेट मैदानमा कोशी र गण्डकी प्रदेशबीच खेल हुनेछ ।