काठमाडौं । काठमाडौंमा जारी सातौं संस्करणको साफ महिला च्याम्पियनको समूह चरणको दोस्रो खेलमा माल्दिभ्सविरुद्ध सानदार जित हासिल गरेको छ ।
त्रिपुरेश्वरस्थित दशरथ रंशालामा सोमबार भएको खेलमा नेपालले ११–० को जित हासिल गरेको हो । नेपालले साफमा माल्दिभ्सविरूद्व हात पारेको यो अहिलेसम्मकै फराकिलो जित हो ।
यसअघि सन् २०१६ मा पनि ९–० माल्दिभ्सलाई पराजित गरेको थियो।
नेपाललाई पहिलो जित दिलाउन रेखा पौडेलले सर्वाधिक पाँच गोल गरिन् भने प्रीति राईले ह्याट्रिक गोल गर्दा र सविता रानामगर, अमिसा कार्की र अनिता केसीले समान एक गोल गरिन् ।
खेलको छैटौं मिनेटमै नेपालले सुरुआती अग्रता लिएको थियो । सविताको क्विक कर्नरमा प्रीतिले पेनाल्टी बक्सबाहिरबाट प्रीतिले प्रहार गरेको बल सीधै गोलमा परिणत भएको थियो ।
२९औं मिनेटमा नेपालले अग्रता दोब्बर बनायो । माल्दिभ्सकी डिफेन्डरबाट बल खोस्दै सुरु लिम्बूले दिएको बललाई सविताले बक्सबाहिरबाट दोस्रो बारमा गोल गरेकी थिइन् ।
३२औं मिनेटमा रेखाले नेपालको अग्रता ३–० मा पुर्यायो । रश्मिकुमार घिसिङले सिक्स यार्डनजिकबाट दिएको बललाई रेखाले हुलमुलमा जाली चुमाएकी थिइन् ।
४२औं मिनेटमा रेखाले नै व्यक्तिगत दोस्रो र टोलीका लागि तेस्रो गोल गरिन् । सविताले दिएको क्रसमा उनले गोल गर्दै नेपाललाई पहिलो हाफमै फराकिलो अग्रता दिलाइन् ।
दोस्रो हाफको सुरूमै नेपालले पाँचौ गोल गरेको थियो । योसँगै रेखाले ह्याट्रिक पूरा गरिन् ।
राइट साइडबाट ड्रब्लिङ गर्दै दिएको पास माल्दिभ्सको डिफेन्डरसँग ठोकिएर उनकै नियन्त्रण पुग्यो ।
उक्त बललाई वान टच गर्दै रेखाले जाली चुमाइन् । ६५औं मिनेटमा प्रीतिले पेनाल्टी बक्स बाहिरबाट सुन्दर गोल गरिन् ।
मैदान प्रवेश गरेको एक मिनेट पनि नबित्दै अनिता केसीले गोल गरिन् ।
अनिता बस्नेत दिएको बल नियन्त्रणमा लिॅंदै उनले वान भर्सेस वानमा गोल गरेकी हुन् । रेखाले ७७औं मिनेटमा पाँचौ गोल गरिन् । त्यसअघि उनले ६२औं मिनेटमा पनि गोल गरेकी थिइन् ।
८७औं मिनेटमा प्रीतिले ह्याट्रिक पूरा गरिन् । उनले पेनाल्टीमार्फत गोल गरेकी हुन् । लगत्तै अमिसा कार्कीले गोल गर्दै नेपालको अग्रता ११ गोलमा पुर्याइन् ।
जितसँगै नेपाल समूह बीको शीर्ष स्थानमा उक्लिएको छ । नेपाल पहिलो खेलमा भुटानसँग गोलरहित बराबरीमा रोकिएको थियो ।
नेपालको चार अंक छ । भुटानको पनि समान चार अंक छ । भुटानले माल्दिभ्स र नेपालले श्रीलंकासँग समूह चरणको अन्तिम खेल खेल्ने छ । यही खेलबाट समूह विजेताको टुंगो लाग्ने छ ।