विराटनगर । स्टार फुटबलर लियोनल मेसीले फिफा विश्वकप छनोट अन्तर्गत चिली र कोलम्बियाविरुद्धको खेल गुमाउने भएका छन् । उनले चोटका कारण छनोट खेलहरु गुमाउने भएका हुन् ।
अर्जेन्टिना एफएले छनोटका लागी घोषणा गरेको टोलीमा मेसीलाई समावेश गरिएको छैन ।
गत महिना अमेरिकामा भएको कोपा अमेरिकाको फाइनलमा खुट्टामा चोट लागेका कारण ३७ वषिर्य मेसी २८ सदस्यीय अर्जेन्टिनी टोलीमा नअटाएका हुन् ।
हाल मेजर लिग सकर टोली इन्टर मायामीसँगै रहेका मेसी त्यही रिकभरीका लागि प्रयास गर्दै छन् ।
कोपा अमेरिका पछि राष्ट्रिय टोलीबाट सन्यासको घोषणा गरेका एन्जेल डि मारिया सँगै रिभर प्लेटका गोलकिपर फ्रान्को अरमानी पनि टोलीबाट बाहिरिएका छन् ।
प्रशिक्षक लियोनेल स्कालोनीले मिडफिल्डर इजेक्वेल फर्नान्डेज र स्ट्राइकर भ्यालेन्टिन क्यास्टेलानोसलाई पहिलो पटक टिममा सामेल गरेका छन् ।
विश्वकप छनोट अन्तर्गत साविक विजेता अर्जेन्टिनाले सेप्टेम्बर ५ मा चिली र त्यसको पााच दिनपछि कोलम्बियासाग प्रतिस्पर्धा गर्ने छ ।