विराटनगर । कोस्टारिकाका अनुभवी गोलरक्षक केलोर नाभासले सन्न्यासको घोषणा गरेका छन् ।
राष्ट्रिय टोलीबाट १६ वर्षमा १०० भन्दा बढी अन्तर्राष्ट्रिय खेल खेलेका ३७ वर्षीय नाभासले आफ्नो आधिकारिक सामाजिक सञ्जालमार्फत सन्न्यासको घोषणा गरेका हुन् ।
कोस्टारिकाको इतिहासकै उत्कृष्ट गोलरक्षक मानिएका नाभासले सन् २०१४ मा ब्राजिलमा भएको विश्वकपमा आफ्नो राष्ट्रिय टोलीलाई क्वार्टरफाइनलसम्म पुर्याएका थिए । उनले सन् २०१८ को रुस र सन् २०२२ को कतार विश्वकप खेलेका थिए ।
नाभासले रियल म्याड्रिडसँग लगातार तीन पटक च्याम्पियन्स लिग जितेका थिए । रियलसँगै नाभासले एक स्पेनिस लिग र एक पटक कोपा डेल रेको उपाधि जितेका छन् ।
स्पेनमा ५ सिजन बताएपछि उनी फ्रान्सेली क्लब पेरिस सेन्ट-जर्मेन (पीएसजी)मा आबद्ध भएका थिए। उनले पीएसजीमा ४ सिजन बताए ।
नाभासले कोपा अमेरिकामा खेल्ने अपेक्षा गरिएको थियो। तर, उनले प्रतियोगितामा खेल्ने र त्यसपछि टोलीबाट सन्न्यास लिने योजना बनाएका हुन् या होइनन् भन्ने स्पष्ट भएको छैन ।