विराटनगर । नेपाल समूह विजेता बन्दै वेस्ट एसियन फुटबल महासंघ (वाफ) महिला च्याम्पियनसिपको सेमिफाइनलमा प्रवेश गरेको छ ।
शनिबार बेलुका साउदी अरेबियाको जेदाहस्थित किङ अब्दुल्लाह स्पोर्ट्स सिटी रंगशालामा भएको खेलमा भएको समूह चरणको अन्तिम खेलमा प्यालेस्टाइनलाई हराउँदै नेपालले समूहको शीर्षस्थानमा रहेर सेमिफाइनलको यात्रा पक्का गरेको हो ।
नेपालले प्यालेस्टाइनमाथि ४-० को जित निकाल्दा सावित्रा भण्डारी ‘साम्बा’ले दुई तथा रेखा पौडेल र गीता रानाले एक-एक गोल गरे ।
नेपाल लगातार तेस्रो जितका साथ ९ अंक जोड्दै शीर्षस्थानमा रह्यो । नेपालले पहिलो खेलमा सिरियालाई ४–१ गोल अन्तरले हराएको थियो ।
दोस्रो खेलमा नेपालले इराकलाई ५-० गोलान्तरले हराउँदै एक खेलअगावै सेमिफाइनलमा स्थान पक्का गरेको थियो ।
नेपालले अब सेमिफाइनलमा मंगलबार लेबनानको सामना गर्ने छ । अर्को सेमिफाइनलमा समूह ‘ए’ को विजेता जोर्डन र प्यालेस्टाइन खेल्नेछन् ।