खेलकुदमा शुभाशीषको लगाव : विराटनगरमा झन्डै डेढ करोड लगानी खोले फुटसल

शब्द एक्स्प्रेस संवाददाता
बिहिबार १० फाल्गुण, २०८०
२ वर्षअघि

माधव काफ्ले
मोरङ विराटनगर महानगरपालिका–९ का २९ वर्षीय शुभाशीष कोइराला सानै उमेरदेखि खेलकुदप्रति लगाव राख्थे ।

खेलक्षेत्रकै व्यक्तिहरूसँगको संगत बढाएर खेलकुदतिरको रुचिमा वृद्धि गरिरहन उनी मैदानमा खटिन्थे, प्रायः खेल हेरेर विश्लेषण गर्नसक्ने ल्याकत राख्थे ।

त्यो चेत घट्न नदिनका लागि शुभाशीषले स्पेनको बार्सिलोना पुगेर फुटबलसम्बन्धी ‘कोर्स’ नै गरे ।

उताबाट फर्किएपछि उनले दिल्लीमा अध्ययन गरी फुटबलको सर्वोच्च निकाय फिफाको स्पोर्ट्स म्यानेजमेन्टको लाइसेन्स बनाए ।

अहिले उनले फिफाअन्तर्गत नै रहेर डिग्री गरिरहेका छन्, जुन बेलायत, इटाली र स्विट्जरल्यान्ड गरी विश्वका तीन देशमा मात्र पढ्न पाइन्छ ।

फिफाको मास्टर्सका लागि प्रत्येक वर्ष विश्वभरिबाट २३ जना विद्यार्थीले अवसर पाउँछन्, त्यसमध्येका शुभाशीष पनि एक हुन् ।

विशेषगरी फुटबलतिर रुचि राख्ने शुभाशीषले सह–संयोजकको भूमिका निर्वाह गरेर गत वर्ष सातौं संस्करणको विराट गोल्ड कप आयोजना गराएका थिए ।

कोशी प्रदेशकै पहिलो रात्रीकालीन फुटबल प्रतियोगिता आयोजना गर्दा चर्चा बटुल्न सफल भएका उनी यसपालि भने जमेर आफ्नो ‘ड्रिम प्रोजेक्ट’मा जुटेका छन् ।

खेलकुदप्रतिको विराटनगरको ‘क्रेज’ लाई कायमै राख्ने लक्ष्यका साथ शुभाशीषले करिब डेढ करोडको लगानीमा फुटसल सञ्चालनमा ल्याउँदै छन् ।

विराटनगर–९ भिआइपी रोडमा शुभाशीष आफ्नो एकल लगानीमा ‘जम्बोरे नेक्सस लन्ज’ नामक फुटलस सञ्चालनमा ल्याउने तरखरमा छन् ।

नयाँ वर्ष २०८१ मा औपचारिक शुभारम्भ गर्ने लक्ष्य राखिए पनि ‘जेएनएल’ फुटसलभित्र दुई सयभन्दा बढी खेल खेलाइसकिएको छ ।

‘फुटसलका कतिपय संरचना निर्माणाधीन अवस्थामै छन् तर मैदान भने बनिसकेको छ,’ उनी भन्छन्, ‘विराटनगरमा स्पोर्ट्सको क्रेज गज्जबको छ, बनिनसक्दै दुई सयभन्दा बढी म्याच गराइसक्यौं । फुटसलको कोर्टमाथि क्रिकेटको म्याट हालेर पनि खेलाउँछौं ।’

शुभाशीष आफ्नै साढे दुई कठ्ठा जग्गामा निर्माणाधीन जेएनएलमा फुटसल र क्रिकेट गरी दुई सयभन्दा बढी खेल आयोजना भइसकेको उनी बताउँछन् ।

फुटसल कोर्टबाहेक उनले फुटबल लाइब्रेरी, क्याफे र ई–स्पोर्ट्स गेमिङ जोन सञ्चालनमा ल्याउँदैछन्, जसको काम अहिले धमाधम भइरहेको छ ।

नेपाल र विश्व फुटबलबारे जानकारी दिने पुस्तकहरू पुस्तकायलयमा पढ्न पाइने छ भने वर्ल्डलिङ्क इन्टरनेटसँगको सहकार्यमा सञ्चालित गेमिङ जोनमा इन्टरनेटका खेलहरू खेल्न पाइने छ ।

निकट भविष्यमै चेस खेल पनि सञ्चालनमा ल्याउन ‘प्लेइङ स्टेसन’ बनाउँदै छन्, उनी ।

विराटनगरमा अरू पनि फुटसल छन् । तर, आफ्नो फुटसल अरूको भन्दा सुलभ, सुरक्षित र गुणस्तरीय रहेको शुभाशीषको दाबी छ ।

फुटसल कोर्ट प्रयोग गर्ने खेलाडीले घण्टाको एक हजार रुपैयाँ तिर्नुपर्ने र महिनाभरि प्रयोग गर्नेले दैनिक ८०० रुपैयाँमात्र तिर्नुपर्ने उनी बताउँछन् ।

‘निकै अध्ययन गरेर मैले उच्च प्रविधिको ग्रास हालेको छु, इन्फिल्ड हाल्नुको सट्टा रबर प्रयोग गरेको छु,’ उनी भन्छन्, ‘फुटसलमा बोकेको चोटले गर्दा कतिपय खेलक्षेत्र पलायन हुनुपरेको बाध्यताबारे जानकार छु । यसैले इन्ज्युरी हुनबाट जोगाउन सेफ्टी मापदण्ड पूरा गरेको छु ।’

पार्किङको सुविधा, समर्थकलाई बस्ने व्यवस्थामात्र नभएर चारैतिर हरियाली भएका कारण पनि खेलाडीलाई सहज हुने उनको भनाइ छ ।

यसअघि सार्वजनिक रूपमा फोहोर फाल्ने ठाउँमा शुभाशीषले आकर्षक फुटसल बनाएका हुन् ।

उनी भन्छन्, ‘यो ठाउँ वर्षौंयता खाली भएका कारण यहाँ फोहोरको थुप्रो हुन्थयो । यसको सदुपयोग पनि हुने अनि विराटगरको खेल क्रेजलाई कायमै राख्न पनि सकिने भनेर मैले यहाँ फुटसल चलाउने भएको हुँ ।’

अहिले शुभाशीषले काठमाडौंबाट चित्रकार बोलाएर फुटसलवरिपरि आकर्षक चित्र कोर्दैछन् ।

काठमाडौंका सुमन वाग्लेले बनाएका ‘स्केच’ले पनि खेलप्रेमीलाई तान्छ ।

लियोनल मेस्सी, नेयमार, रोनाल्डोलगायत युरोपियन फुटबलका केही चर्चित खेलाडी अनि नेपालका लागि अन्तर्राष्ट्रिय खेल खेलिसकेका फुटबलरका चित्रले खेलाडीलाई झन् ऊर्जा थप्नेमा विश्वस्त छन्, शुभाशीष ।

पूर्वकप्तानद्वय हरि खड्का र किरण चेमजोङ अनि अहिले इन्टरनेसनल गेम खेलेर नेपाललाई चिनाउँदै गरेकी सावित्रा भण्डारी ‘साम्बा’ को स्केचले खेलप्रेमीलाई आकर्षित तुल्याउँछ ।

विराटनगरमा खेलकुद क्षेत्र चलायमान बनाउने लक्ष्य

विराटनगरमा खेलकुदतिर धेरैको चासो छ । यो कुरा बेलाबखतमा आयोजना हुने केही प्रतियोगिताहरूमा दर्शकको उपस्थितिले पुष्टि गर्छ ।

तर, राज्यले मात्र नभएर निजी क्षेत्रले पनि खेलकुदतिर गरेको विभेदपूर्ण लगानीकै कारण पनि यो क्षेत्र चलायमान बन्न सकिरहेको छैन । जसकारण नै हरेक दिनजसो खेलाडी हातमा पासपोर्ट बोकेर त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल पुग्ने गरेका छन् ।

खेलकुदसँग सम्बन्धित निकायमा राजनीति हाबी हुनु, खेलाडीको आर्थिक अवस्था उकासेर स्वदेशमै अड्याउनेतिर कसैको पनि ध्यान नजानु र अन्तर्राष्ट्रियका प्रतियोगितामा निरन्तरको पराजयलगायत विविध कारणले गर्दा खेलमा आकर्षण घट्दो छ ।

जसकारण अभिभावकले आफ्ना सन्तानलाई खेलतिर लाग्न दिँदैनन् ।

यस्ता कुरालाई मध्येनजर गर्दै फुटसल सञ्चालनमा ल्याउन आँटेको शुभाशीष बताउँछन् ।

उनी भन्छन्, ‘मैले विश्व खेल जगत अलिअलि पढेको छु । अरूतिर सानै उमेरदेखि एकेडेमी धाउँछन् । हामीकहाँ भने ढिलो गरेर खेल सिकाइन्छ । जसले गर्दा पनि टेक्निकल ज्ञानको अभाव रहन्छ, खेलाडीमा ।’

विराटनगरले राष्ट्रिय फुटबल टोलीमा अनुभव बटुल्ने भोला सिलवाल र देवनारायण चौधरीजस्ता थुप्रै खेलाडी पाएको छ ।

तर, विराटनगरमा खेलकुद प्रतियोगिताको ग्राफ ओरालो लागिरहेको छ, जसले गर्दा खेलाडी, प्रशिक्षक र खेलसम्बद्ध व्यक्तिहरूको आम्दानी निरन्तर घट्दो रहेको शुभाशीषको ठहर छ ।

‘विराटनगरमा खेलकुद प्रतियोगिता कम आयोजना हुन्छ, जसकारण खेलक्षेत्र चलायमान छैन,’ उनी थप्छन्, ‘प्रतियोगिता आयोजना भए धेरैको चुलो बल्थ्यो, मैदानवरिपरिको आर्थिक प्रणाली नै स्थापित हुन्थयो । मेरै फुटसलमा मात्र खेलतिर आकर्षित केहीले रोजगारी पाउँछन् । यसले खेल क्षेत्रलाई चलायमान बनाउन सक्छ । धेरैको प्रतिभा प्रष्फुटन हुन्छ भन्ने मैले आशा लिएको छु ।’

प्रकाशित समय: बिहिबार १० फाल्गुण, २०८०, १३:००:२४
देउवा दम्पतीलाई पक्राउ नगर्न सर्वोच्चको अन्तरिम आदेश
सोमबार ११ जेठ, २०८३
न्यायाधीशको सम्पत्ति छानबिन गर्नुपर्ने सांसद् न्यौपानेको माग
सोमबार ११ जेठ, २०८३
दुर्गा प्रसाईं विरुद्ध पर्सा जिल्ला अदालतमा अभियोग पत्र दायर
सोमबार ११ जेठ, २०८३
भूमि मन्त्रालयअन्तर्गत १३ अर्बभन्दा बढी बेरुजु, फर्छ्यौट सुस्त
सोमबार ११ जेठ, २०८३
पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाविरुद्धको पक्राउ पुर्जी सम्बन्धी रिट आज सुनुवाइमा
सोमबार ११ जेठ, २०८३
सर्वोच्च अदालतमा गोला प्रथाबाट पेशी तोक्ने प्रक्रिया हटाउने तयारीप्रति बार अध्यक्ष मिश्रको आपत्ति
सोमबार ११ जेठ, २०८३
भैँसी खेतमा पसेको निहुँमा दलित महिलामाथि कुटपिट
सोमबार ११ जेठ, २०८३
मोबाइल चार्ज गर्ने बहानामा बुहारीको कोठा पसेका जेठाजुलाई लाग्यो बलात्कार आरोप, ससुरा फरार
सोमबार ११ जेठ, २०८३
बैंकिङ कसुर मुद्दामा फरार व्यक्ति पक्राउ
आईतबार १० जेठ, २०८३
‘फुटेर होइन, जुटेर नै कांग्रेस र देश बलियो हुन्छ’
आईतबार १० जेठ, २०८३
अस्पताल बसेरै बित्यो डाक्टरको कारागारको समय !
शुक्रबार ५ माघ, २०८०
विराटनगरमा हनी ट्रयापको बिगबिगी : एक जनाबाटै ठगिए २५ बढी पुरुष
आईतबार ४ चैत, २०८०
‘बुढेशकाल’ मा जन्मिएका जुम्ल्याहा सन्तान अस्ताए, आफू पनि ६ घण्टा मार्वल स्टोनले थिचिए
शुक्रबार ११ फाल्गुण, २०८०
सुन्दरहरैंचाबाट पाँच लाख रुपैयाँसहित समातिइन् लागुऔषध कारोबारी सुनिता राई
बिहिबार १ चैत, २०८०
रोकिराखेको सिटी सफारीमा ठोक्किँदा मोटरसाइकल चालकको मृत्यु, पक्राउ परे सिटी चालक
बुधबार २८ चैत, २०८०
विराटनगरको पोखरिया मावि एसइई नतिजामा देशभरकै सर्वोत्कृष्ट
मङ्गलबार १५ जेठ, २०८१
कानेपोखरी : अनुमतिबिना ढोका खोलेको भन्दै अध्यक्षले गरिन् कार्यालय सहयोगीलाई निलम्बन
बुधबार १७ माघ, २०८०
मोटरसाइकल दुर्घटनामा कर्मचारीको मृत्यु, विराटनगरमा बिहीबार बिदा
बुधबार २४ माघ, २०८०
स्वास्थ्य मन्त्रालयले माग्यो करारमा कर्मचारी
बुधबार २४ माघ, २०८०
चार सय करोडको लगानीमा विराट क्यान्सर इन्स्टिच्युट सञ्चालनमा
आईतबार २१ माघ, २०८०