विराटनगर । कोपा डेल रेको सर्वाधिक धेरै पटकको विजेता बार्सिलोना पुनः एकपटक फाइनलमा पुगेको छ ।
बुधबार राति भएको सेमिफाइनलको दोस्रो लेगमा एट्लेटिको मड्रिडलाई १-० र समग्रमा ५-४ गोलान्तरले जित निकाल्दै बार्सिलोना उपाधिनजिक पुगेको हो ।
एट्लेटिको मड्रिडलाई उसैको मैदानमा पराजित गर्दै बार्सिलोना चार सिजनपछि पहिलो पटक कोपा फाइनलमा प्रवेश गरेको हो ।
दुई टिमबीच फेब्रुअरीमा भएको पहिलो लेग ४–४ को बराबरीमा सकिएको थियो, जसअनुसार बार्सिलोना समग्रमा ५–४ को जितसहित फाइनलमा पुगेको हो ।
फेरान टोरेसले पहिलो हाफमा गोल गर्दै बार्सिलोनालाई जित दिलाए ।
अब फाइनलमा बार्सिलोना र रियल मड्रिडबीच ‘एल क्लासिको’ प्रतिस्पर्धा हुने भएको छ ।
रियलले भने मंगलबार अतिरिक्त समयमा रियल सोसिडाडलाई हराउँदै समग्रमा ५–४ को जितसहित फाइनल यात्रा तय गरेको थियो ।
बार्सिलोना र रियल कोपा डेल रे फाइनलमा अन्तिम पटक २०१३–१४ सिजनमा भिडेका थिए, जसमा रियलले उपाधि जितेको थियो ।