काठमाडौं । विश्वकप विजेता इटालीका पूर्व कप्तान तथा गोलकिपर जियानलुइजी बुफोन नेपाल आउने भएका छन् ।
४७ वर्षीय बुफोन केपी ओली कप फुटबल प्रतियोगिताका दौरान नेपाल आउने भएका हुन् ।
प्रतियोगिताको आयोजक राष्ट्रिय युवा संघका अध्यक्ष क्षितिज थेबेले बुफोन नेपाल आउने पक्का भएको जाकारी दिए ।
केपी ओली कपको तेस्रो संस्करण यही फागुन ११ देखि १९ गतेसम्म हुनेछ ।
बुफोन फाइनलका दौरान दशरथ रंगशालामा उपस्थित हुनेछन् ।
संघका अध्यक्ष थेबेकाअनुसार बुफोन ल्याउनका लागि सम्झौतासमेत भइसकेको छ ।
यसअघि ब्राजिलका स्टारहरु रोनाल्डिन्हो र रोबर्टो कार्लोसलाई प्रस्ताव गरे पनि उनीहरू नआउने भएपछि बुफोनलाई ल्याउन लागिएको हो ।
बुफोन करिब एक साता नेपालमा रहनेछन् ।
त्यस दौरान उनले प्रधानमन्त्री केपी शर्मा ओलीसँग भेटघाट गर्नुका साथै विभिन्न स्थानको भ्रमण पनि गर्नेछन् ।
सन् २००६ को फिफा विश्वकप जितेका बुफोनले १७६ अन्तर्राष्ट्रिय खेल खेलेका छन् ।
उनले इटलीका लागि ८० खेलमा कप्तानकाे भूमिका निर्वाह गरेका थिए ।
बुफोनले सन् १९९८ देखि २०१४ सम्म लगातार पाँच विश्वकप खेलेका थिए ।