विराटनगर । आइतबार भारत र इंग्ल्यान्डबीच भएको दोस्रो एकदिवसीय खेलमा भारतले इंग्ल्यान्डलाई ५ विकेटले पराजित गरेको छ ।
कटकको बाराबती रंगशालामा भएको खेलमा टस जितेर पहिले ब्याटिङ गर्दै इङ्ल्यान्डले भारतलाई ३०५ रनको लक्ष्य दिएको थियो । भारतले ५.३ ओभर बाँकी रहँदा यो लक्ष्य हासिल गर्यो ।
भारतका कप्तान रोहित शर्माले ९० बलमा १२ चौका र ७ छक्का हान्दै ११९ रन बनाए। शुभमन गिलले ६०, श्रेयस अय्यरले ४४ र अक्षर पटेलले ४१ रन बनाए ।
तर, यशस्वी जयस्वालको स्थानमा खेलेका विराट कोहलीले भने राम्रो प्रदर्शन गर्न सकेनन्, मात्र ५ रन बनाएर आउट भए । इंग्ल्यान्डका लागि जो रुटले ६९ र बेन डकेटले ६५ रन बनाए ।
बलिङमा भारतका रविन्द्र जडेजाले सबैभन्दा धेरै तीन विकेट लिए भने इङ्ल्यान्डका जेमी ओभरटनले दुई विकेट लिए ।
यो जितसँगै भारतले तीन खेलको शृङ्खलामा २–० को अग्रता लिएको छ । अर्को खेल फेब्रुअरी १२ मा अहमदाबादको नरेन्द्र मोदी स्टेडियममा हुनेछ ।