विराटनगर । निमोनियाका कारण निधन भएका बालगायक सचिन परियार आफ्नो बालापनको अनुभूति गर्न नपाएरै अस्ताए ।
हर्मोनल असन्तुलन र स्नायुको समस्याले गर्दा उनको शारीरिक विकास सही ढंगले भएको थिएन ।
यस्तै स्थितिमा गुल्मी सदरमुकाम तम्घासको कुनै बाटोमा उनी आफ्नै सुरमा खेल्दै हिडिरहेका भेटिएका थिए ।
त्यही बेला कसैले उनको भिडियो खिचेर सोसल मिडियामा राखेपछि उनी ‘भाइरल’ बने ।
भाइरल बन्नुको पछाडि उनको खास कुनै प्रतिभा थिएन । बरु बोल्ने शैली र लवजलाई ‘मनोन्जनको खुराक’ बनाइएका उनले भाइरलकै नियति भोग्नुपर्यो ।
सामाजिक सञ्जालबाट उदाएका उनले भाइरल हुने प्रवृत्तिका कारण सुविस्ताले बाँच्नसमेत पाएनन् ।
न उनलाई लेखपढ गर्न दिइयो, न स्वच्छन्द बाल्यकाल बिताउन नै दिइयो । अन्ततःसचिनले बिहीबार बिहान अन्तिम सास लिए ।
सिभियर निमोनियाले पल्मोनरी ह्यामरेज भएका कारण उनको निधन भयो । १३ वर्षीय सचिनको निधनमा सामाजिक सञ्जालको टाइमलाइन शोकमा डुबेको छ ।
भाइरलको नियति भोग्ने उनी पहिलो व्यक्ति थिएनन् । सामाजिक सञ्जालबाटै उदाएका भेलुबाजेका नामले भाइरल प्यूठानका मिनबहादुर बुढा पनि अर्को उदाहरण हुन् ।
विभिन्न युट्युवरले लिएको अन्तवार्तामा ‘रफ’ शब्द बोलेर भाइरल भएका भेलुबाजेको गत २० वैशाखमा निधन भयो ।
अत्यधिक मादकपदार्थ सेवनको कारण अस्पताल भर्ना भएका उनको उपचारका क्रममा मृत्यु भएको थियो ।
६१ वर्षीय बुढामगरले ‘ओख्खो’, ‘बेल्कुल’ र ‘अनुरोध गरेको छु’ जस्ता थेगोले सामाजिक सञ्जालका माध्यमबाट ‘भाइरल’ बनेका थिए ।
लोकप्रिय बन्दै गएपछि उनले केही हाँस्य टेलिशृंखलामा अभिनय र गीत गाउनेसमेत अवसर पाएका थिए ।
सामान्य ज्याला मजदुरी गरेर आफ्नो जीविकोपार्जन गरिरहेका भेलु बाजेलाई टिकटकले एकाएक भाइरल बनाइदियो । तर, उनको उपचारमा भएको आर्थिक अभावबारे कसैले चासो लिएनन् ।
सामाजिक सञ्जालमा के–के न भनेर भाइरल गराउँछन् । भ्यूज बढाउँछन् र पैसा कमाउँछन् अन्त्यमा मृत्यु सम्मुख पुगुन्जेलसम्म पनि अनेक शीर्षकमा कन्टेन्ट बनाएर सबैलाई पंगु बनाउँछन् ।
पैसा नै असुल्ने महत्वकांक्षा राखेर दुनियाँलाई रमिते बनाइने नाटकका पात्रहरूमध्ये भेलु बाजे र सचिन परियार थिए जो मृत्युका प्रिय भए ।
भाइरल हुन्जेल मानिसहरूले मनोरञ्जन लिने तर बिरामी पर्दा सहयोग नगर्ने हामी र सहयोगका लागि आएका रकम झ्वाम पार्ने अभियन्ताहरू नै भेलु बाजे र सचिनको निधनको दोषी हुन् भन्दा फरक नपर्ला !