विराटनगर । प्रधानमन्त्री केपी शर्मा ओलीले मंसिर १५ गतेदेखि हुन लागेको नेपाल प्रिमियर लिग (एनपिएल)को ट्रफी सार्वजनिक गरेका छन् ।
सोमबार सुन्धारास्थित धरहरा परिसरमा उनले ट्रफी सार्वजनिक गरेका हुन् ।
सो अवसरमा प्रधानमन्त्री ओलीले गौरवशाली धरहराको काखमा एनपिएलको ट्रफी सार्वजनिक कार्यक्रमले खेलकुदमा नयाँ जाँगर पैदा गरेको जिकिर गरे ।
प्रधानमन्त्री ओलीले नेपाली क्रिकेट खेलाडी तथा एनपिएलका आठ टोलीकै मार्की खेलाडीको खुलेर प्रशंसासमेत गरे ।
सम्बोधनको क्रममा सुरुमै जनकपुर बोल्ट्सका कप्तान आसिफ शेखको प्रशंसा गरे ।
उनले शेखले स्पोर्टम्यानसीप देखाउँदै आयरल्यान्डका खेलाडीलाई रन आउट नगरेको श्रव्यदृश्य आफूले पनि हेरेको उल्लेख गर्दै उनलाई ‘क्याप्टेन कूल’को उपनाम दिनुपर्ने बताए ।
‘जनकपुर बोल्ट्सका मार्की खेलाडी आसिफ शेखले स्पोर्टम्यानसिप देखाउँदै आयरल्यान्डका खेलाडीलाई रन आउट नगरेको त्यो भाइरल श्रव्यदृश्य मैले पनि हेरेको थिएँ । जनकपुर झैँ शान्त स्वभाव कायम रहोस् । आसिफ शेखलाई क्याप्टेन कूल, शान्त भनेर उपनाम दिएपनि हुन्छ जस्तो लाग्छ,’ उनले भने ।
प्रधानमन्त्री ओलीले काठमाडौं गुर्खाजका मार्की खेलाडी करण केसीलाई ‘भ्यालेन्टाइन बोय’ सम्बोधन गरे ।
करणले राजधानीको नाम राख्ने आफूले आशा लिएको उनले जिकिर गरे ।
‘काठमाडौँ गुर्खाजका कप्तान करण केसीलाई भ्यालेन्टाइन बोय भनेर सम्बोधन गर्ने कुरा थाहा पाएको थिएँ । उहाँले राजधानीको नाम राख्ने आशा लिएको छु,’ उनले भने ।
सम्बोधनको क्रममा प्रधानमन्त्री ओलीले पोखरा एभेन्जर्सका मार्की खेलाडी कुशल भुर्तेललाई विश्वले नै बलर हुन् कि ब्याटर छुट्याउनै नसकेको बताए ।
उनले यस पटक ९९ रनमा आउट हुन् नपरोस् भन्दै शतक हान्न शुभकामना दिए ।
‘पोखरा एभेन्जर्सका मार्की खेलाडी कुशल भुर्तेल बलर हुन् कि ब्याटर छुट्याउनै गाह्रो हुने उहाँको कौशल छ । विश्वले नै छुट्याउन सकिरहेको छैन् जस्तो लाग्छ । मैले मात्रै होइन्”, कुशलको प्रशंसा गर्दै प्रधानमन्त्री ओलीले भने, ‘यसपटक ९९ रनमा आउट हुन नपरोस् । शतक हान्नु भन्ने मेरो शुभकामना छ ।’
प्रधानमन्त्री ओलीले चितवन राइनोजलाई आफूले ‘गैँडाज’ भन्ने बताए ।
चितवन राइनोजका मार्की खेलाडी कुशल मल्लको छक्का हान्ने शैली मनपर्ने उल्लेख गर्दै उनले आखिर चितवन गैँडाजका कप्तान हो नि ! भन्दै प्रशंसा गरे ।
‘हाम्रो साथीहरुले चितवन राइनोज भन्नुभएको छ, मैले चितवन गैँडाज भन्छ, ‘चितवन राइनोज अर्थात् गैंडाजका कप्तान कुशल मल्ल हेर्दा अल्लि सानो/सानो लाग्ने । ज्यानमा ताकत बोकेर छक्का हान्ने शैली साह्रै मनपर्छ,’ उनले भने ।
लुम्बिनी लायन्सका मार्की खेलाडी रोहितकुमार पौडेलको नाम सुन्दै गर्व लाग्ने भन्दै प्रधानमन्त्री ओलीले उनको प्रसंशा गरे ।
जसले जिते पनि रोहितलाई फाइदा हुने भन्दै प्रधानमन्त्री ओलीले नेपाली क्रिकेटका कप्तान भएको नाताले उनले जितेकै हुने धारणा राखे ।
‘लुम्बिनी लायन्सका रोहित पौडेलको नाम सुन्यो कि मलाई गर्व लाग्छ । रोहितको कप्तानीले लुम्बिनीको भावना मैदानमा देख्नेछ । जसले जिते पनि रोहितलाई फाइदा छ, आखिर देशले जित्छ र नेपाली क्रिकेटका कप्तान भएको नाताले उहाँले जितेकै हुनेछन्,’ प्रधानमन्त्री ओलीले भने ।
विराटनगर किङग्स्का मार्की खेलाडी सन्दीप लामिछाने नेपाली क्रिकेटको ब्रान्ड एम्बासडर जस्तै भएको प्रधानमन्त्री ओलीले बताए ।
उनले बीबीएलदेखि आइपीएलसम्म सन्दीपको बलले धेरै ब्याट्सम्यानलाई नाच्न बाध्य पारेको सुनाए ।
‘विराटनगर किङ्सका सन्दीप लामिछाने त हाम्रो क्रिकेटको ब्रान्ड एम्बासडर जस्तै हुनुभयो । बीबीएलदेखि आइपीएलसम्म सन्दीपको बलले धेरै ब्याट्सम्यानलाई नाच्न बाध्य पारेको छ,’ उनले भने, ‘त्यसैले त मैले भनेको थिएँ, नेपालीले चान्स पायो भने गर्छ ।’
कर्णाली याक्सका मार्की खेलाडी सोमपाल कामीका योरकरलाई भुल्न नसकिने प्रधानमन्त्री ओलीले बताए ।
उनले सोमपालले कर्णालीको चिसो पानीको ताकत मैदानमा देखाउने उल्लेख गर्दै अर्को टी– ट्वेन्टी विश्वकप खेल्ने तयारीमा राम्ररी जुट्न सुझाव दिए ।
“कर्णाली याक्सका सोमपाल कामीका ती योरकरलाई कसले भुल्न सक्छ र रु सोमपालले कर्णालीको चिसो पानीको ताकत मैदानमा देखाउनेछन्”, प्रधानमन्त्री ओलीले भने, “नेपाललाई अर्को टी– ट्वान्टी विश्वकप खेल्ने तयारीमा राम्ररी जुट्न मेरो सल्लाह छ ।”
प्रधानमन्त्री ओलीले सुदूरपश्चिम रोयल्सलका मार्की खेलाडी दीपेन्द्रसिंह ऐरीलाई बाघको संज्ञा दिए ।
उनले ऐरीको ६ छक्काको कीर्तिमान आफुलाई स्मरण रहेको उल्लेख गर्दै यस्ता थुप्रै कीर्तिमान बताउन समेत शुभकामना दिए ।
‘अन्तिममा हिरोको पालो आउँछ, मेरो फेभरेट नै जस्तो भनौँ । नेपाली क्रिकेटका बाघ दीपेन्द्रसिंह ऐरीको ६ छक्काको कीर्तिमान मलाई स्मरण छ,” उनले भने, “एनपीएलमा यस्ता थुप्रै कीर्तिमान बनुन् । सुदूरपश्चिम रोयल्सलाई पनि विशेष शुभकामना छ ।”
पहिलो संस्करणको नेपाल प्रिमियर लिग (एनपिएल) यहीँ मङ्सिर १५ गतेदेखि सुरु हुँदैछ । प्रतियोगिताका खेल कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालयको क्रिकेट मैदानमा हुनेछन् ।