विराटनगर । अमेरिकामा शनिबारदेखि सुरु भएको आइसिसी एक दिवसीय विश्वकप लिग-२ सिरिजका लागि नेपाली टोलीको घोषणा भएको छ ।
नेपाल क्रिकेट संघ (क्यान) ले शनिबार साँझ रोहितकुमार पौडेलको कप्तानीमा दुई अतिरिक्तसहित १७ सदस्यीय खेलाडी टोलीको घोषणा गरेको हो ।
टोलीमा कुशल भुर्तेल, आशिफ शेख, अनिल शाह, भीम सार्की, आरिफ शेख, कुशल मल्ल, दीपेन्द्रसिंह ऐरी, अर्जुन साउद, सोमपाल कामी, करण केसी, गुलशन झा, रिजन ढकाल, सन्दीप लामिछाने र ललित राजवंशी छन् ।
यस्तै, देव खनाल र सागर ढकाललाई अतिरिक्त खेलाडीमा राखिएको छ ।
अमेरिका, नेपाल र स्कटल्यान्ड सम्मिलित यस सिरिजमा नेपालले आफ्नो पहिलो खेल आइतबार अमेरिकासँग खेल्नेछ ।
नेपालले दोस्रो खेल कात्तिक १३ गते स्कटल्यान्डसँग, नेपालले तेस्रो खेलमा कात्तिक १७ गते अमेरिकासँग र चौथो तथा अन्तिम खेलमा कात्तिक १९ गते स्कटल्यान्डसँग खेल्नेछ ।
लिगमा आठ खेलबाट तीन अंक बनाएको नेपाल सातौँ स्थानमा छ ।
आठ देश सहभागी लिग–२ मा नेपाल यसअघि क्यानडामा आयोजक क्यानडा, नेपाल र ओमान सम्मिलित त्रिकोणात्मक सिरिज खेलेर अमेरिका गएको हो ।