काठमाडौं । चौरी देउराली गाउँपालिका–६ काभ्रेका नारायणप्रसाद रिमाल छेउकै घरको बार्दलीमा थिए ।
उनलाई समय ठ्याक्कै याद छैन, सायद बिहानको ११ बजेको हुनुपर्छ । श्रीमती पवित्रा भान्सा कोठामा खाना पकाउँदै थिइन् ।
बिहीबारदेखि परेको अविरल वर्षाले राम्रो संकेत दिइरहेको थिएन । एक्कासि माथिबाट आएको पहिरोले घर पुर्यो । हेर्दाहेर्दै श्रीमती पुरिइन् ।
पहिरोमा परेको दुई घण्टासम्म उनले उद्धारका लागि गुहार गर्नुभयो । हारगुहार गर्दागर्दै बेहोस भए । चार घण्टापछि होस खुल्दा उनले आफूलाई एकैपटक अस्पतालका बेडमा पाए ।
आइतबार दिउँसो हेलिकप्टरमार्फत काठमाडौं ल्याइएका रिमालको राष्ट्रिय ट्रमा सेन्टरको इमरजेन्सी कक्षमा उपचार भइरहेको छ ।
उनका आँखाले कसैलाई खोजिरहेका छन् । उनका शरीरमा चोटपटक नलागेको कुनै ठाउँ छैन ।
रिमालको शरीरको दायाँ भागमा बढी क्षति पुगेको देखिन्छ । इमरजेन्सीको बेड नं २१ उपचाररत ६८ वर्षीय रिमाललाई आफू घाइते भएको भन्दा पनि आफ्नी अर्धाङ्गिनीसँग बिछोड भएको पीडाले पिरोलेको छ ।
रिमालको दायाँपट्टिको करङ फुस्किएको छ । उनको उक्त भाग चलेको छैन । मंगलबार अपरेसन हुने भनिएको छ ।
रिमाललाई शनिबारको उक्त कहालीलाग्दो दिन सम्झिँदा मन अमिलो हुन्छ ।
चिन्तित मुद्रामा रिमालले भन्छन्, ‘म बाँच्न सफल भएँ तर खाना बनाइरहेकी मेरी श्रीमती पहिरोमै छिन् । उद्धारका लागि डोजर पुग्न सकेको छैन रे ।’
आफूलाई अप्ठ्यारो परेका बेला हरदम साथ रहने जीवनसाथीको याद नआओस् पनि कसरी ?
रिमालले पहिरोले घर लग्ला भन्ने कहिल्यै नसोचेको बताए । ‘विसं २०४६ सालमा त्यो घर बनाएको हो । यो पालि यस्तै भयो,’ उनले भने ।