विराटनगर । साविक विजेता रियल मड्रिडले स्पेनिस ला लिगामा जित निकालेको छ । शनिबार राति भएको खेलमा रियलले रियल सोसिडाडमाथि २–० को जित निकालेको हो ।
रियल सोसिडाडको मैदानमा भएको खेलमा भिनिसियस जुनियर र केलियन एमबाप्पेले पेनाल्टीमार्फत गोल गरेका थिए ।
पहिलो हाफ गोलरहित बराबरीमा सकिएको खेलको ५८औं मिनेटमा कार्लो एन्सेलोट्टीको टोलीलाई भिनिसियसले पेनाल्टीमार्फत गोल गर्दै अग्रता दिलाएका थिए ।
अर्डा गुलरले डिबक्सको किनाराबाट प्रहार गरेको बल सर्जियो गोमेजको हातमा लागेको थियो। त्यसपछि रियलले पेनाल्टी पाएको हो ।
एमबाप्पेले ७५ औं मिनेटमा अर्को पेनाल्टी गोल गर्दै रियललाई तीन अंक दिलाए । रियल दोस्रो स्थानमा रहे पनि ११ अंक जोडेको छ । आइतबार पाँचौं स्थानको जिरोनासँग खेल्ने बार्सिलोनाभन्दा एक अंकले पछि छ ।