विराटनगर । दक्षिण एसियाली फुटबल महासंघ (साफ) यु–२० च्याम्पियनसिप फुटबलको उपाधि बंगलादेशले जितेको छ ।
सातदोबाटोस्थित एन्फा मैदानमा बुधबार भएको फाइनल खेलमा नेपाललाई ४–१ गोलले हराउँदै बंगलादेश च्याम्पियन बनेको हो ।
एकपक्षीय खेलमा बंगलादेशलाई जिताउन मिराजुल इस्लामले दुई तथा यस नोभा र हुसेन राहुलले एक/एक गोल गरे ।
नेपालका लागि समीर तामाङले एक सान्त्वना गोल फर्काए । खेलभर बंगलादेशको दबाब झेलेको नेपालको घरेलु मैदानमा उपाधि चुम्ने सपना पूरा भएन ।
नेपालले समूह चरणको खेलमा भने बङ्गलादेशलाई २–१ गोलले हराएको थियो । नेपालले सेमिफाइनलमा भुटानलाई टाइब्रेकरमा ४–१ गोलले हराउँदै फाइनल यात्रा तय गरेको थियो ।
बंगलादेशले साबिक विजेता भारतलाई टाइब्रेकरमै ४–३ गोलले हराएर नेपालसँगको फाइनल भेट पक्का गरेको थियो । च्याम्पियनसिपमा साफमा आबद्ध पाकिस्तानबाहेक ६ टोलीको सहभागिता रहेको थियो ।