विराटनगर । सुनसरीको धरानमा पत्रकार सञ्चिता धमलामाथि सार्वजनिक स्थलमा भएको आक्रमणको घटनामा सात जनालाई प्रहरीले पक्राउ गरेको छ।
बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचाररत धमलालाई अस्पतालको लाइनमा बसिरहेको अवस्थामा सात जना महिलाको समूहले आक्रमण गरेको थियो।
पीडित धमलाले दिएको जाहेरीका आधारमा अनुसन्धान अघि बढाइएको र अभद्र व्यवहार सम्बन्धी कसुरमा सात जनालाई जिल्ला प्रशासन कार्यालय सुनसरीबाट म्याद थप अनुमति लिएर कारबाही प्रक्रिया अगाडि बढाइएको सुनसरी प्रहरीले जनाएको छ।
पक्राउ परेकाहरू धरान उपमहानगरपालिका प्रमुख हर्कराज साम्पाङका समर्थक रहेको बुझिएको छ।
पक्राउ पर्नेहरूमा धरान-१५ की ५२ वर्षीया चन्द्रकला श्रेष्ठ, धरान १९ की ३४ वर्षीया मुना राई, धरान १७ की ५६ वर्षीया प्रमिला राई, धरान १९ की ४५ वर्षीया शर्मिला राई, धरान ९ की ५२ वर्षीया शक्तिनी थापा मगर, धरान १७ की ४० वर्षीया पूर्ण वान्तवा राई र ३५ वर्षीया सिर्जना बैधा रहेका छन्।
प्रहरीले घटनामा संलग्न अन्य व्यक्तिहरूको पनि खोजी भइरहेको जनाएको छ।
यस घटनाले समाजमा शान्ति र सुव्यवस्था कायम राख्न तथा महिला हिंसा विरुद्ध सचेतना बढाउन आवश्यक रहेको देखाएको छ।