विराटनगर । फिफा विश्वकप–२०२६ र एएफसी एसिएन कप छनोटको खेल खेल्न बहरानइन पुगेको नेपाली राष्ट्रिय फुटबल टोलीले बहराइनमै होली मनाएको छ ।
अखिल नेपाल फुटबल संघ (एन्फा) ले सोमबार बिहानै तस्बिर सार्वजनिक गर्दै नेपाली खेलाडीले बहराइनमै होली मनाएको जनाएको छ ।
अहिले नेपाली टोलीले बहराइनसँगको दोस्रो लेगको खेलको तयारी गरिरहेको छ ।
मंगलबार (भोलि) नेपाल र बहराइनबीचको खेल हुँदै छ ।
यसअघि शुक्रबार बिहान भएको पहिलो लेगको खेलमा नेपाल घरेलु टोली बहराइन ५-० गोलान्तरले पराजित भएको थियो ।
नेपालले घरेलु मैदान दशरथ रंगशालामा खेल्नुपर्ने पहिलो खेल पनि बहराइनमै खेलेको हो ।
दशरथ रंगशाला मैदान खेलका लागि उपयुक्त नभएकोले नेपालले बहराइनसँगको होम र अवे दुवै खेल उसैको मैदानमा खेलेको हो ।
विश्वकप छनोटअन्तर्गत एसियाली छनोटको समूह ‘एच’ मा रहेको नेपालले यसअघिका दुई खेलमा हार बेहोरेको थियो ।
नेपाल पहिलो खेलमा संयुक्त अरब इमिरेट्स (युएई) सँग ४–० र दोस्रो खेलमा यमनसँग २–० गोलले पराजित भएको थियो ।
नेपालले पहिलो चरणको खेलमा भने लाओसलाई समग्रमा १–० गोलले हराउँदै दोस्रो चरणमा स्थान बनाएको थियो ।
नेपाल बहराइनसँग खेल्नुअघि मलेसियासँग उसैको मैदानमा खेलेर बहराइन गएको हो ।
नेपाल मलेसियासँगको मैत्रीपूर्ण खेलमा ५–१ गोलले पराजित भएको थियो ।