विराटनगर । विराटनगरमा आयोजना हुने नेसनल टी-२० च्याम्पिनसिपको उद्घाटन खेलमा कर्णाली प्रदेश र कोशी प्रदेश भिड्ने भएका छन् ।
मोरङ जिल्ला क्रिकेट संघको आयोजनामा यसै फागुन २२ गतेदेखि चैत ३ गतेसम्म विराटनगरको बैजनाथपुर रंगशालामा हुँदै छ ।
सोमबार टेलिभिजन प्रसारणसम्बन्धी पत्रकार सम्मेलनका क्रममा संघका अध्यक्ष मोहम्मद साद कुरैसीले पहिलो खेलमा घरेलु टोलीले कर्णालीसँग खेल्ने बताएका हुन् ।
उनका अनुसार प्रतियोगितामा तीन विभागीय टोली र सात प्रदेशको सहभागिता रहने छ, जसलाई दुई समूहमा विभाजन गरिएको छ ।
प्रतियोगिताको समूह ‘क’ मा सशस्त्र प्रहरी बलको टोली, त्रिभुवन आर्मी क्लब, कोशी प्रदेश, मधेस प्रदेश र कर्णाली प्रदेश रहने छन् ।
त्यसैगरी, समूह ‘ख’ मा नेपाल पुलिस क्लब, बाग्मती प्रदेश, गण्डकी प्रदेश, लुम्बिनी प्रदेश, र सुदूरपश्चिम प्रदेश रहनेछन् ।
संघका अध्यक्ष कुरैसीले प्रतियोगिताको टेलिभिजनको सर्वाधिकार विराटनगरको मकालु टेलिभिजनले पाएको बताए ।
दैनिक दुईवटा खेल हुने प्रतियोगितामा पहिलो खेल बिहान १० बजे र दिउँसो २ बजे हुने बताइएको छ । विजयी टोलीले पाँच लाख पुरस्कार राशि हात पार्ने बताइएको छ ।