विराटनगर । दोस्रो एकदिवसीय क्रिकेटमा नेपालको ‘ए’ टोलीले क्यानडा–११ लाई हराएको छ ।
मंगलबार मुलपानी मैदानमा सिरिजअन्तर्गतको दोस्रो खेलमा नेपाल ‘ए’ ले क्यानडालाई दुई विकेटले हराएको हो ।
क्यानडाले दिएको दुई सय ४१ रनको लक्ष्य नेपालले पाँच बल बाँकी छँदा आठ विकेट गुमाएर भेटाएको हो ।
नेपालका कप्तान सन्दीप जोराले ६६ रन बनाए भने बसिर अहमदले ५२ रन जोडे ।
यसैगरी, रशिद खानले ४७ रन बनाए ।
क्यानडाका निखिल दत्त, आमोर खालिद र साहिद अहमदजईले समान दुई विकेट हात पारे ।
त्यसअघि टस हारेर ब्याटिङ गरेको क्यानडा अन्तिम बल बाँकी छँदा २ सय ४० रनमा अल आउट भएको थियो ।
क्यानडाका श्रेयश मोभाले ६८ रन बनाएको इनिङ्समा नवनीत धालिवालले ४६ रन बनाएका थिए ।
नेपालका साहब आलमले ३ तथा रासिद खान र शेर मल्लले समान दुई विकेट लिएका थिए ।
यो जितसँगै ३ खेलको शृङ्खलामा १–१ को बराबरी भएको छ ।
पहिलो खेलमा नेपाल ४ विकेटले पराजित भएको थियो ।
शृङ्खलाको अन्तिम खेल बिहीवार हुने छ ।