विराटनगर । निजी तथा आवासीय विद्यालय अर्गनाइजेसन नेपाल (प्याब्सन) मोरङले ‘प्याब्सन स्पोर्ट्स मिट’ को तयारी थालेको छ ।
१३ औं संस्करणको प्याब्सन स्पोर्ट्स मिट विराटनगरमा यही माघ २६ देखि २८ गतेसम्म हुने छ ।
सोमबार विराटनगरमा पत्रकार सम्मेलन गर्दै प्याब्सन मोरङले ‘राष्ट्रको खेलकुद विकास तथा स्वास्थ्य र सभ्य समाजका लागि प्याब्सन स्पोर्टस मिट’ भन्ने मूल नाराका साथ स्पोर्ट्स मिट आयोजना गर्न लागिएको जनाएको छ ।
प्याब्सन मोरङका अध्यक्ष प्रेमलाल सिंह सुवालले औपचारिक शिक्षासँगै विद्यार्थीहरूको व्यक्तित्व विकास गर्ने उद्देश्यले स्पोर्ट्स मिट गर्न आँटेको जानकारी दिए ।
राष्ट्रिय तथा अन्तर्राष्ट्रिय जगतमा आफ्नो प्रतिभा प्रदर्शन गर्न सक्ने खेलाडी उत्पादन गरी राष्ट्रप्रति समर्पित गर्ने उद्देश्यका साथ २०६३ सालदेखि प्रत्येक वर्ष प्याब्सन मोरङले जिल्ला स्तरीय खेलकुद सञ्चालन गर्दै आएको छ।
यसपालि प्याब्सनआबद्ध मोरङका दुई सय १० वटा विद्यालयका ३ हजारभन्दा बढी विद्यार्थीले सहभागिता जनाउने बताइएको छ ।
विद्यार्थीबीच भलिबल, फुटबल, टेबलटेनिस, बास्केटबल र म्याराथनका इभेन्टमा प्रतिस्पर्धा हुने छ। प्रतियोगिता सञ्चालनका लागि करिब १५ लाख खर्च हुने आयोजकले जनाएको छ ।