उदयपुर । उदयपुरका डम्बरबहादुर पूर्वथानेले साहसिक खेल कायाकिङ राष्ट्रिय प्रतियोगितामा प्रथम भएका छन् ।
गण्डकी प्रदेश खेलकुद परिषद्ले नवलपरासी (बर्दघाट सुस्तापूर्व) को नारायणी नदीमा सोमबार आयोजना गरेको कायाकिङमा उदयपुरका पूर्वथाने प्रथम बने ।
नारायणी नदीमा पहिलोपटक उक्त साहसिक खेल सम्पन्न भएको थियो । जसमा १८ प्रतिस्पर्धीलाई उछिन्दै उनी पहिलो भएका हुन् ।
डम्बरबहादुरले सात किलोमिटरको दुरी ३५ मिनेट ३८ सेकेन्डमा पुरा गरे । प्रथम बनेका उनले ४० हजार रुपैयाँ जिते ।
यस्तै, गोर्खाका दिपेश रानामगर दोस्रो हुँदै २५ हजार जित्न सफल हुँदा चितवनका विजय गुरुङ तेस्रो हुँदै १५ हजार जिते ।
नेपालमा कायाकिङ गर्ने २०० भन्दा बढी खेलाडी छन् । डुंगामा एक जनामात्र बस्न मिल्नेगरी खेलिने कायाकिङ साहसिक खेल विधामा पर्दछ ।