विराटनगर । दुबईमा जारी दुबई सुपर कप २०२४ मा नेपाली कराते टोलीले दुईवटा स्वर्ण पदक जितेको छ ।
नेपालको प्रतिनिधित्व गर्दै दुबई पुगेको इटहरी कराते एकेडेमीको टोलीले सोमबार प्रतिस्पर्धा गर्दै दुई स्वर्ण जितेका हुन् ।
करातेमा ८४ केजीमा अल्जेरिया र दुबईलाई हराउँदै रोजन खड्काले गोल्ड जितेका हुन् ।
यस्तै, ८४+ केजीमा मलेसिया र दुबईलाई हराउँदै सागर राउतले गोल्ड मेडल जिते ।
संयुक्त अरब इमिरेट्स (युएई) मा आइतबारबाट सुरु भएको सुपर कप खेल्न नेपालकाे कराते टोली शनिबार त्यसतर्फ प्रस्थान गरेको थियो ।
प्रशिक्षक हेमा खड्काको नेतृत्वमा दुबई पुगेको टोलीमा व्यवस्थापक सजित कार्की र खेलाडीहरू दिपेश कोइराला, सागर राउत, रोजन खड्का र दीपक सरदार रहेका छन् ।
नेपाली टोली फेब्रुअरी १ मा स्वदेश फर्किने छ ।