विराटनगर । दक्षिण अफ्रिकामा जारी १५औं संस्करणको आइसिसी यु-१९ विश्वकप क्रिकेटमा बुधबार (आज) नेपालले आफ्नो दोस्रो खेल खेल्दै छ ।
आज नेपाली समयानुसार दिउँसो १:४५ बजे हुने खेलमा नेपालले पाकिस्तानको सामना गर्न आँटेको हो । नेपाल र पाकिस्तानबीचको खेल इस्ट लन्डनस्थित बफ्यालो पार्कमा हुने छ ।
यसअघि आफ्नो पहिलो खेलमा नेपाल न्युजिल्यान्डसँग ६४ रनले पराजित भएको थियो । यसैले नेपाललाई दोस्रो खेलमा जित निकाल्दै पर्नै दबाब छ ।
नेपाल आजको खेलमा पराजित भए प्रतियोगिताको अघिल्लो चरण प्रवेश गर्ने सम्भावना कमजोर हुनेछ ।
नेपालले तेस्रो खेल २६ तारिखअफगानिस्तानसँग खेल्नेछ ।
नेपालले आठ वर्षपछि १९ वर्षमुनिको विश्वकप खेलिरहेको छ । यसअघि नेपालले सन् २०१६ मा विश्वकप खेलेको थियो ।
त्यसबेला नेपालले क्वार्टरफाइनलसम्मको यात्रा तय गरे पनि अन्तिम आठको खेलमा बंगलादेशसँग पराजित भएपछि प्रतियोगिताबाट बाहिरिएको थियो ।
यसपालिको विश्वकपमा नेपाल समूह ‘डी’ मा रहेको छ ।
नेपालको समूहमा न्युजिल्यान्ड, पाकिस्तान र अफगानिस्तान रहेका छन् ।
सहभागी १६ टोलीलाई चार समूहमा विभाजन गरिएको हो ।
यस्तै, समूह ‘ए’ मा भारत, बंगलादेश, आयरल्यान्ड र अमेरिका छन् भने समूह ‘बी’ मा इंग्ल्यान्ड, दक्षिण अफ्रिका, वेस्ट इन्डिज र स्कटल्यान्ड रहेका छन् ।
समूह ‘सी’ मा अस्ट्रेलिया, श्रीलंका, जिम्बावे र नामिबिया छन् । समूहमा शीर्ष दुई टोली अर्को चरण (सुपर आठ) मा पुग्नेछन् ।
नेपाली टोलीको प्रशिक्षकमा जगत टमटा रहँदा कप्तानमा देव खनाल छन् ।
यस्तै, अर्जुन कुमाल, आकाश त्रिपाठी, दीपकप्रसाद डुम्रे, दुर्गेश गुप्ता, गुलशन झा, दीपेश कँडेल, विशाल विक्रम केसी, सुवास भण्डारी, दीपक बोहोरा, उत्तम थापामगर, विपिन रावल, दीपक बोहोरा, तिलकराज भण्डारी र आकाश चन्द टोलीमा छन् ।